सन्दर्भ काेदाे दिवसः  बहुगुणी अन्न कोदो तर खेती गर्न भने किसानको अरुची (फाेटाेफिचर)

614 Shares

काठमाडौँ । देशको चौथो मुख्यबाली  कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । 

Kodo Ropain (3).jpg

कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्नसकिने उनीहरूको भनाइ छ ।

Kodo Ropain (6).jpg

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ । चितवनमा अघिल्लो वर्षको तुलनामा यो वर्ष कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ । 

Kodo Ropain (5).jpg

कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक  एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् । उनले भने, ‘कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।’

Kodo Ropain (8).jpg
 
कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको छ । पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए । ‘आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यवसायिकरुपमा कोदोखेती गर्ने चलन हरायो’, उनले भने । जिल्लाको ६ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  स्थानीय बजारमा कोदो प्रतिपाथी रु १५० देखि १६० सम्ममा विक्री हुने गरेको छ । 

Kodo Ropain (7).jpg

पाल्पाका गामीण भेगमा एक दशक अघिसम्म कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन् । कोदोखेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन् । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो । यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँहरुमा कोदोखेती हुने गरेको छ । पाल्पामा आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएकामा आव  २०८१/०८२ मा आएर दुई हजार ३४९  हेक्टरमा  झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए । जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएका उनले जानकारी दिए । रासस

Kodo Ropain (1).jpg

 

Kodo Ropain (4).jpg
फाेटाेहरुः सिन्धुपाल्चाेककाे सुनकाेशी गाउँपालिका २ पिङ्डाडा साना किसान कृषि सहकारीको समन्वयमा काेदाे राेपेर प्रथम  राष्ट्रिय कोदो  दिवस मनाइँदै। तस्बीरः जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चाेक ।