मधेसमा ८२ प्रतिशत धान रोपाईं सम्पन्न

142 Shares

जनकपुर ।  गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाईं सम्पन्न भइसकेको थियो । तर यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाईं सम्पन्न हुन सकेको छैन ।

मधेसमा धान रोपाईं हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाईं सम्पन्न भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ । यस वर्ष मौसम प्रतिकुल बन्दा मधेसमा रोपाईं हुन सकेको छैन ।

यतिबेला मधेसमा रोपाई सकि सक्नुपर्ने भएपनि अझै रोपाईं सम्पन्न हुन सकेको छैन । कारण हो– समयमै पानी नपर्नु, सिंचाइँको व्यवस्था नहुनु । सिंचाइँको व्यवस्था नहुँदा र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले किसानले धान रोप्न नपाएका हुन् । कृषि विकास निर्देशनालयका वरिष्ठ बागबानी विकास अधिकृत प्रदीप यादवकाअनुसार साउन सकिनै लाग्दा मधेसमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको अनुमान गरिएको छ । अर्थात अझैपनि १८ प्रतिशत धान रोपाईं मधेसमा बाँकी नै छ । 

कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा बढी बारामा ९५ प्रतिशत धान रोपाईं भएको छ । बारामा रोपाईं हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाईं सम्पन्न भएको छ । पर्सामा धान रोपाईं हुने ३९ हजार ७ सय ३१ हेक्टरमध्ये ३६ हजार ५ सय ५२ हेक्टरमा रोपाईं भएको छ । सिरहाको धान रोपाईं हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये ३७ हजार ८ सय हेक्टरमा जम्मा ७० प्रतिशत रोपाईं भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा ३० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । उक्त क्षेत्रफलमा ७० प्रतिशत मात्रै रोपाईं भएको छ । 

यस्तै रौतहटमा ३५ हजार हेक्टरमध्ये ३० हजार ६५ हेक्टरमा अर्थात् ८६ प्रतिशत रोपाईं भएको छ । सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये ३२ हजार ७ सय ७० हेक्टरमा रोपाईं भएको छ । यो भनेको ६५ प्रतिशत हो । सप्तरीमा भने ७० प्रतिशत मात्रै रोपाईं हुन सकेको छ। सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६ सय हेक्टरमा मात्रै रोपाईं हुन सकेको हो । महोत्तरीको धान रोपाईं हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो । त्यसमध्ये २६ हजार १ सय ३७ हेक्टरमा अर्थात ६१.५ प्रतिशत रोपाईं भएको छ ।