विगतको जगमा अब नयाँ ढङ्गले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः अध्यक्ष भट्टराई

301 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने जिम्मेवारी पूरा गरिसकेको बताउनुभएको छ। 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब त्यो भन्दा अगाडि उन्नत समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पछिल्लो ज्ञान, विज्ञान र नेपालको ठोस सामाजिक–आर्थिक अवस्थालाई आत्मसात् गर्दै नयाँ ढङ्गले समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष भट्टराईले विगतको बलिदानपूर्ण इतिहासलाई नकार्ने वा अपमान गर्न नहुने बताउँदै विगतको जगमा उभिएर समय सुहाउँदो र नेपाल अनुकूल समाजवादी यात्राको नयाँ चरण शुरु गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले पूँजीवाद उत्पादक शक्तिको विकास नगरी आफूहरूले भने जस्तो समाजवाद आउन नसक्ने बताउनु भयो ।