ऊर्जा क्षेत्रको विकासमार्फत समृद्धितर्फ जानुपर्छः हितेन्द्रदेव शाक्य

337 Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकास गर्नसके मात्रै समृद्धितर्फ जान सकिने बताउनुभएको छ । 

बिहीबार काठमाडौंमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उहाँले समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको हो । उहाँले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादनसँगै प्रशारण, विक्री वितरणमा समेत जोड दिएको बताउनु भयो । 

सेवा पुर्याउने क्रममा केही अप्ठ्याराहरु सिर्जना भए विद्युत नियमन आयोगसँग सहकार्य गर्ने बताउनु भयो । अहिले पनि ऊर्जा क्षेत्रमा हुनुपर्ने नियमन हुन नसकेको संकेत गर्दै शाक्यले आगामी दिनमा विद्युत नियमन आयोगले त्यस्तो नियामकीय अभावलाई पूरा गर्दै जानुपर्नेमा जोड दिनुभयो । शाक्यका अनुसार विद्युत प्राधिकरणले आफैँ गर्दै आएका कतिपय नियमनहरु विद्युत नियमन आयोगको कार्यक्षेत्रभित्र परेको हुनसक्ने बताउँदै त्यस्तो नियमनको पाटोलाई बिस्तारै प्रतिस्थापन गर्दै आयोगबाटै गरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार डेडिकेटर फिडर तथा ट्रंक लाइनको पुनरावलोकनसम्बन्धमा नियमन आयोगबाटै जाँचबुझ हुनुपर्थ्याे तर हुन सकेन । आगामी दिनमा आयोगको क्षेत्राधिकारलाई विद्युत प्राधिकरण नमिच्ने उहाँको भनाई रहेको छ । 

शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरुले तयार गरेको आधारशीलामा टेकेर वर्तमान आयोग नेतृत्वले काम गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार द्रुतगतिमा ब्याट्री इनर्जी स्टोरेज सिस्टम, पम्प स्टोरेज पावर पलान्ट, इलेक्ट्रिसिटि मार्केट, रिजर्भ क्यापसिटि मार्केट जस्ता केही पहिचान भएका क्षेत्रको समेत विद्युत् नियमन आयोगबाट नियमन हुनुपर्छ । हालको विद्युत ऐनमा केही दुविधाहरु रहेर आयोजनाहरुको काम अघि बढ्न कठिनाइ भए त्यसमा पनि आयोगले सहजिकरण गर्नुपर्ने शाक्यले बताउनु भयो । 

उहाँका अनुसार ऊर्जा क्षेत्रमा रहेका समस्या र लगानीमैत्री वातावरणका लागि अहिले संसदमा विद्युत विधेयक विचाराधिन छ । विधेयक आएपछि पनि केही दुविधा पैदा हुन सक्नेतर्फ इन्कित गर्दै शाक्यले देखा पर्न सक्ने त्यस्ता दुविधाहरुलाई नियमकीय निकायका हिसाबले विद्युत् नियमन आयोगले सहजीकरणको भूमिका खेल्नुपर्ने बताउनु भयो । आयोगको वर्तमान नेतृत्वले एक वर्षको अवधीमा धेरै उल्लेख्य काम गरेको बताउँदै आफूबीचमा नियमन आयोगको विज्ञका रुपमा रहँदा त्यसको अनुभूति गर्न पाएको समेत बताउनु भयो ।