काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट भिरमा खसेर एक विद्यार्थी बेपत्ता भएका छन् । चितवनबाट पोखरा हुँदै फर्किने क्रममा बसबाट ओर्लिएका विद्यार्थी शौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६, चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
प्रहरीका अनुसार आज साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ शौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेका थिए । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले उनी सडकबाट करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएको जानकारी प्राप्त भएको बताएका छन् ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनास्थल पुगेलगत्तै बेपत्ता विद्यार्थीको खोजी तथा उद्धार कार्य सुरु गरेको जनाएको छ ।
घटनास्थल भिरालो क्षेत्रमा रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण हुन सक्ने देखिएको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
१५ वर्षीय विद्यार्थी बेपत्ता भएपछि परिवार, आफन्त तथा स्थानीयवासी चिन्तित बनेका छन् । प्रहरीले बेपत्ता विद्यार्थीको अवस्थाबारे थप जानकारी प्राप्त गर्न खोजी कार्यलाई निरन्तरता दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया