वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

9 Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध रहेका विकास योजनालाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले अवरुद्ध योजनाको सञ्चालन प्रक्रिया सप्तरीबाटै सुरु गर्ने बताएकी हुन् ।

मन्त्री रावलले राजविराज नगरपालिका–१५ स्थित शीत भण्डारको अनुगमन तथा निरीक्षण गर्दै लामो समयदेखि रोकिएका योजनालाई पुनः सञ्चालनमा ल्याउन सरकार आवश्यक प्रक्रिया अघि बढाउन तयार रहेको बताइन् ।

अनुगमनका क्रममा उनले तिलाठी कोइलाडी गाउँपालिका–४ डलवास्थित मुरहर बस्ती पुगेर स्थानीयवासीका समस्या, गुनासा र मागसमेत सुनेकी थिइन् ।

भूमिहीनलाई लालपुर्जा वितरणका लागि पहल गर्ने

मुरहर बस्तीका स्थानीयवासीसँगको छलफलमा मन्त्री रावलले बस्तीको मुख्य समस्या सुरक्षा र जग्गाको स्वामित्वसँग सम्बन्धित रहेको बताइन् । उनले स्थानीयवासीलाई जग्गाको स्वामित्व उपलब्ध गराउन लालपुर्जा वितरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नियम र कानुनअनुसार जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने उल्लेख गर्दै उनले कानुनी मापदण्ड पूरा गर्ने परिवारलाई लालपुर्जा उपलब्ध गराइने बताइन् । मापदण्ड पूरा नभएका परिवारका हकमा पनि कानुनबमोजिम जग्गाको स्वामित्व प्रदान गर्न सकिने विकल्प खोजिने उनको भनाइ थियो ।

मन्त्री रावलले भूमिहीन दलित बस्तीमा निर्माण गरिएका घरको सङ्ख्या सीमित भए पनि जनसङ्ख्या बढ्दै गएको उल्लेख गर्दै परिवारको सङ्ख्याअनुसार आवासको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

५२ परिवारको बसोबास, घरमा कोठा अपुग भएको गुनासो

मुरहर बस्तीका स्थानीयवासी लामो समयदेखि बसोबास गर्दै आए पनि जग्गाको स्वामित्व प्राप्त गर्न नसक्दा भविष्यप्रति चिन्तित छन् ।

स्थानीयवासीका अनुसार विसं २०७४ को बाढीपछि त्यसबेला पत्रकार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा उक्त बस्ती निर्माण गरिएको थियो । बाढीपछि पुनःस्थापनाका क्रममा निर्माण गरिएको बस्तीमा हाल ५२ परिवारका घर रहेका छन् ।

समयसँगै परिवारको सङ्ख्या बढ्दै गएपछि घरमा कोठा अपुग भएको स्थानीयवासीको गुनासो छ । जग्गाको स्वामित्व नहुँदा घरको आकार बढाउन तथा थप संरचना निर्माण गर्नसमेत समस्या भइरहेको उनीहरूले बताएका छन् ।

स्थानीयवासीले जग्गाको लालपुर्जा, सुरक्षित बसोबास र परिवारको आवश्यकताअनुसार आवास व्यवस्थापनको माग मन्त्रीसमक्ष राखेका थिए ।

सांसदसहितको टोलीद्वारा बस्तीको अवलोकन

मन्त्री रावलसँगै सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का सांसद सीताराम शाह, सांसद खगेन्द्र कर्ण र सांसद बब्लु गुप्तासहितको टोलीले मुरहर बस्तीको अवलोकन गरेको थियो ।

टोलीले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोग्दै आएका समस्या र समाधानका उपायबारे जानकारी लिएको थियो ।

यसअघि मन्त्री रावलले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कङ्कालिनी भगवती मन्दिर र छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिरमा पुगेर दर्शनसमेत गरेकी थिइन् ।

वर्षौँदेखि अवरुद्ध योजनाको पुनः सञ्चालन, भूमिहीन परिवारलाई जग्गाको स्वामित्व र सुरक्षित आवासको व्यवस्था गर्ने विषयमा मन्त्री रावलले व्यक्त गरेको प्रतिबद्धताले स्थानीयवासीमा अपेक्षा बढाएको छ । अब उक्त प्रतिबद्धता कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्ने विषय महत्त्वपूर्ण हुनेछ ।