काठमाडौं । धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जनकपुरबाट औरहीतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार साँझ करिब ५ बजे ज६प ७७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक औरही गाउँपालिका–३ निवासी वासुदेव महराका ३५ वर्षीय छोरा लालबाबु महरा गम्भीर घाइते भएका थिए।
घटनालगत्तै पुगेको प्रहरी टोलीले घाइते महरालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो। तर, अस्पताल पुर्याएपछि चिकित्सकले साँझ ५ बजेर ३४ मिनेटमा उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएका महराको शव प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ। दुर्घटनामा परेको मोटरसाइकल भने इलाका प्रहरी कार्यालय औरहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरीले जनाएको छ।
मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया