काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
शुक्रबार जिल्ला अदालतले अर्याललाई हिरासतमै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीलाई थप चार दिनको म्याद दिएको हो।
भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका अर्याललाई सिलगुडीको बाटो हुँदै बिहीबार नेपाल ल्याइएको थियो। नेपाल ल्याइएपछि उनलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो नियन्त्रणमा राखेको थियो।
अनुसन्धानका लागि थप समय आवश्यक भएपछि सीआईबीले शुक्रबार अर्याललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै हिरासत म्याद थप गर्न माग गरेको थियो। अदालतले प्रहरीको मागअनुसार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
अर्यालमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ। प्रहरीले उनीमाथि लागेको आरोपसँग सम्बन्धित विषयमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
अदालतबाट म्याद थप भएसँगै प्रहरीले अबको चार दिनसम्म अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया