खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा निर्माण गरिएको बहुसांस्कृतिक सङ्ग्रहालयलाई सञ्चालनमा ल्याउने तयारीसँगै विभिन्न जातजाति तथा समुदायको मौलिक पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु गरिएको छ । स्थानीय संस्कार, संस्कृति, परम्परा, रहनसहन र ऐतिहासिक पहिचानको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको सङ्ग्रहालयमा सामग्री सङ्कलनको प्रक्रिया अघि बढाइएको हो ।
कोशी प्रदेश सरकार र हलेसी तुवाचुङ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको सङ्ग्रहालयमा नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायका ऐतिहासिक एवं सांस्कृतिक सामग्री प्रदर्शन गरिनेछ । यसबाट स्थानीय बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।
सङ्ग्रहालयमा मौलिक भेषभूषा, गरगहना, बाजागाजा, कृषि तथा घरेलु औजार, पूजाआजामा प्रयोग हुने सामग्री, ऐतिहासिक भाँडाकुँडा र हस्तकलाका सामग्री सङ्कलन गरिने नगरपालिकाले जनाएको छ । विभिन्न समुदायका जीवनशैली, परम्परा र सांस्कृतिक अभ्याससँग सम्बन्धित सामग्रीलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी प्रदर्शनमा राख्ने योजना बनाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले इच्छुक समुदाय, सङ्घसंस्था, गुठी, क्लब तथा व्यक्तिलाई ३५ दिनभित्र सामग्रीको विवरणसहित नगरपालिकाको कार्यालयमा उपलब्ध गराउन वा सामग्री सङ्कलनका लागि जानकारी दिन आग्रह गरेका छन् ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार सामग्री उपलब्ध गराउने व्यक्ति, परिवार, टोल, क्लब वा संस्थाको नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस्तै, सामग्रीको नाम, सम्बन्धित जातजाति वा समुदाय, अनुमानित पुरानो समय, ऐतिहासिक महत्त्व र त्यसको संक्षिप्त परिचयसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
व्यक्तिगत वा सामुदायिक रूपमा सामग्री दान तथा हस्तान्तरण गर्न चाहनेले त्यसको विवरण खुलाउनुपर्नेछ । निश्चित अवधिका लागि मात्र प्रदर्शनमा राख्न चाहनेले पनि सोहीअनुसार स्पष्ट जानकारी दिनुपर्ने नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् ।
सङ्ग्रहालयमा प्रदर्शन गरिने सामग्रीको उचित संरक्षण तथा अभिलेखीकरण गरिने नगरपालिकाले जनाएको छ । सामग्री उपलब्ध गराउने दाता र सम्बन्धित समुदायको पहिचान झल्किने गरी विवरण सुरक्षित राखिनेछ । यसले विभिन्न जातजातिको ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा संरक्षण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले यस ऐतिहासिक कार्यमा सक्रिय सहभागिता जनाउन सबै जातजाति, आदिवासी जनजाति समुदाय, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालालाई आग्रह गरेको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङलुङ पार्क परिसरमा बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गरिएको हो । सङ्ग्रहालय भवन निर्माणका लागि कोशी प्रदेश सरकार र हलेसी तुवाचुङ नगरपालिकाले एक–एक करोड रुपैयाँ बजेट उपलब्ध गराएका थिए ।
प्रदेश सरकारको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा, ताप्लेजुङले ९० लाख रुपैयाँमा एउटा सङ्ग्रहालय भवन निर्माणको जिम्मेवारी पाएको थियो । त्यस्तै, नगरपालिकाको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले ८० लाख ८१ हजार रुपैयाँमा दुईवटा सङ्ग्रहालय भवन निर्माणको जिम्मा पाएको थियो ।
नगरपालिकाका अनुसार प्रदेश सरकारको बजेटबाट एउटा र नगरपालिकाको बजेटबाट दुईवटा गरी तीनवटा सङ्ग्रहालय भवन निर्माणको काम सम्पन्न भएको छ ।
सङ्ग्रहालय सञ्चालनका लागि आवश्यक सामग्री स्थानीय समुदायबाट सङ्कलन गरिएपछि नगर कार्यपालिकाको बैठकबाट उद्घाटनको मिति तय गरिने जनाइएको छ ।
नगरप्रमुख विमला राईले बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बुङलुङ पार्कमा सङ्ग्रहालय स्थापना गरिएको बताइन् ।
उनले स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैली संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिइन् ।
नगरप्रमुख राईले भनिन्, ‘स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैली संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका छौँ । बहुसांस्कृतिक सङ्ग्रहालय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छौँ । नगरपालिकाले यस परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाएको छ । निर्धारित समयमै निर्माण सम्पन्न भएको बहुसांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा आएपछि विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा बहुसांस्कृतिक सङ्ग्रहालयसँगै बुङलुङ पार्क निर्माण भइरहेको छ ।
लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर तथा वनभोजका लागि पुग्ने गरेको ककनीडाँडालाई स्तरोन्नति गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने नगरपालिकाको योजना छ ।
प्राकृतिक रूपमा रहेका ढुङ्गाको मौलिक स्वरूपलाई जोगाउँदै त्यसलाई थप आकर्षक बनाउने काम भइरहेको छ । ढुङ्गाबीच सुहाउँदा फूल रोप्ने, विभिन्न स्थानमा कलात्मक ढुङ्गे प्रवेशद्वार निर्माण गर्ने, ढुङ्गे धारा बनाउने तथा ढुङ्गा कुँदेर धार्मिक र सांस्कृतिक महत्त्व झल्काउने संरचना तयार पार्ने काम अघि बढाइएको छ ।
विशेषगरी भस्मासुरले महादेवलाई लखेटेको पौराणिक कथासँग सम्बन्धित दृश्य झल्काउने मूर्ति निर्माण गर्ने योजना पनि पार्कमा समेटिएको छ । प्राकृतिक ढुङ्गालाई अनावश्यक रूपमा नचलाइकन कालो, सेतो र रातो रङका ढुङ्गा मिलाएर फूलको आकृति बनाउने तथा विभिन्न कला र संस्कृति झल्किने सजावटका कामसमेत भइरहेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माण भइरहेको ढुङ्गे बगैँचालाई नगरपालिकाले ‘बुङलुङ पार्क’ नामकरण गरेको हो । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न उच्च हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
पार्कको चारैतिर घेराबार तथा पर्खाल निर्माण गर्ने, एक क्षेत्रबाट अर्को क्षेत्रमा पुग्न कलात्मक ढुङ्गे सिँढी बनाउने र पर्यटकलाई बस्न तथा आराम गर्न ठाउँठाउँमा काठका बेन्च राख्ने काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
यसका अतिरिक्त पार्कमा विद्युत्, पिउने पानी, विश्रामस्थल, केबलकार, भोजनालय र कफीसपलगायतका संरचना निर्माण गर्ने दीर्घकालीन योजना पनि रहेको छ ।
स्थानीय जनविश्वासअनुसार भस्मासुर राक्षसले महादेवलाई लखेट्ने क्रममा ककनीडाँडामा महादेवको पाइला परेको र त्यसपछि त्यहाँ ढुङ्गाका कलात्मक आकृति बनेको किंवदन्ती रहेको छ । यही धार्मिक तथा सांस्कृतिक विश्वाससँग जोडेर ककनीडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।
निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन थालेको बुङलुङ पार्क नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यअन्तर्गत पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित छ ।
किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै साल्पा–सिलिचुङसम्म निर्धारण गरिएको छ । त्यस्तै, त्रिधार्मिकस्थल हलेसी र ककनीडाँडाको नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुमसमेत रहेको छ ।
यसले धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक पर्यटनलाई एउटै क्षेत्रसँग जोड्ने सम्भावना बोकेको छ । बुङलुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा आएपछि हलेसी आउने पर्यटकलाई थप समय बिताउने र स्थानीय समुदायको संस्कृति तथा इतिहास बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङलुङ पार्कमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माणाधीन अवस्थामै पार्कका आकर्षक तस्बिर तथा दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि यस क्षेत्रप्रति पर्यटकको आकर्षणसमेत बढ्दै गएको छ ।
बहुसांस्कृतिक सङ्ग्रहालय सञ्चालनमा आएपछि हलेसी क्षेत्रको धार्मिक पर्यटनसँगै जातीय, सांस्कृतिक र ऐतिहासिक पर्यटनले पनि नयाँ आयाम पाउने नगरपालिकाको विश्वास छ । स्थानीय समुदायका मौलिक सामग्री संरक्षण गर्दै पर्यटकलाई नेपालको विविध सांस्कृतिक पहिचानसँग परिचित गराउने बुङलुङ पार्क र बहुसांस्कृतिक सङ्ग्रहालय हलेसी तुवाचुङको नयाँ पर्यटकीय पहिचान बन्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया