मंसिर २१-२३ को देउवा पक्ष महाधिवेशनमा सक्रिय हुने सांसदलाई हटाउने तयारीमा कांग्रेस

8 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको विवाद थप चर्किएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्न लागेको महाधिवेशनमा सक्रिय हुने राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई बहालवाला पदबाट हटाउने चेतावनी सभापति गगन थापा नेतृत्वको कांग्रेसले दिएको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकले अनुशासन समिति गठन गरी देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेका जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरूलाई पदबाट हटाउन सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी कांग्रेसले गरेको हो ।

यसको संकेत सभापति गगन थापाले मंगलबार केन्द्रीय समिति बैठकको सुरुआतमै दिएका थिए । उनले नेपाली कांग्रेसले असोज १८ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको उल्लेख गर्दै अब एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने धारणा राखेका थिए ।

देउवा पक्षले गर्न लागेको महाधिवेशनलाई उनले नयाँ पार्टीको महाधिवेशनका रूपमा व्याख्या गरेका छन् । सभापति थापाले अर्को पार्टीमा जाने निर्णय गर्ने जनप्रतिनिधिले आफू निर्वाचित भएको पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

उनका अनुसार कांग्रेसको चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएको व्यक्ति अर्को पार्टीमा आबद्ध भएमा पार्टी विधानअनुसार कांग्रेसको सदस्य रहन सक्दैन । त्यसैले देउवा पक्षको महाधिवेशनमा सहभागी भएर नयाँ पार्टीमा जाने जनप्रतिनिधिले आफू बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

सभापति थापाले राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै पार्टीको अधिवेशनमा सहभागी भएको वा नभएको विषयभन्दा पनि अर्को पार्टीमा आबद्ध भएको अवस्थालाई विधानले कसरी हेर्छ भन्ने विषय महत्त्वपूर्ण रहेको बताएका थिए ।

उनले भनेका थिए, “कांग्रेस विधानले कुनै व्यक्ति पार्टीको चुनाव चिह्न लिएर लडेको छ र ऊ अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन। त्यसैले म आह्वान गर्छु– तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अस्तिको अधिवेशनमा आउनुभयो वा आउनुभएन, फरक पर्दैन तर तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने जुन ठाउँमा जनप्रतिनिधि हुनुहुन्छ, त्यसबाट राजीनामा गर्नुहोला। गर्नुभएन भने विधानअनुसार कारबाही अघि बढ्छ।”

अनुशासन समिति गठन गरेर स्पष्टीकरण सोध्ने तयारी

कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेका जनप्रतिनिधिको विवरण सङ्कलन गर्ने कामसमेत अघि बढाएको छ । उनीहरूलाई पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा स्पष्टीकरण सोध्ने र जवाफका आधारमा थप प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार छिट्टै अनुशासन समिति गठन गरिनेछ । त्यसपछि पार्टीको निर्णयविपरीत गतिविधि गरेको तथा देउवा पक्षले गर्न लागेको महाधिवेशनमा सहभागी भएको जनप्रतिनिधिमाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।

ती पदाधिकारीले समानान्तर महाधिवेशनको आवरणमा नयाँ पार्टीको महाधिवेशनमा सहभागी भएकालाई एकपटक स्पष्टीकरणको अवसर दिइने बताएका छन् । स्पष्टीकरण चित्तबुझ्दो नभए पदमुक्त गर्ने प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

“समानान्तर महाधिवेशनका आवरणमा नयाँ पार्टीको महाधिवेशनमा जुटेकालाई एक पटक स्पष्टीकरणको मौका दिइन्छ। चित्तबुझ्दो स्पष्टीकरण नआए पदमुक्त गर्ने प्रक्रिया पार्टीले अघि बढाउँछ। पार्टीलाई विधान र कानुनअनुसार चलाउँदै अनुशासन कायम राख्न पनि यो आवश्यक छ,” ती पदाधिकारीले भने ।

प्रतिनिधि सभाका दुई सांसद देउवा पक्षमा खुले

प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी ३८ जना सांसद छन् । तीमध्ये दुई जना समानुपातिक सांसद देउवा पक्षमा खुलेका छन् भने दुई जना तटस्थ देखिएका छन् ।

देउवा पक्षले गर्न लागेको महाधिवेशनमा सक्रिय रहेका प्रतिनिधि सभा सदस्यमा हरिनादेवी कामी र सुशीला ढकाल आचार्य रहेका छन् । निनुकुमारी कर्ण र रीना उप्रेती भने अहिलेसम्म कुनै पक्षमा सक्रिय देखिएका छैनन् ।

शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकी निनुकुमारी कर्ण पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन् । त्यस्तै, महिला संघ हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेकी रीना उप्रेती नेता बलबहादुर केसीकी श्रीमती हुन् । बलबहादुर केसी भने कुनै पनि महाधिवेशनमा सहभागी भएका छैनन् ।

देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएर आफ्नो पक्षबाट केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ ।

राष्ट्रिय सभामा सिटौलासहित सात सांसद देउवा पक्षमा

राष्ट्रिय सभामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित सात जना सांसद देउवा पक्षले गर्न लागेको महाधिवेशनमा सक्रिय रहेको विवरण सार्वजनिक भएको छ ।

देउवा पक्षमा खुलेका राष्ट्रिय सभा सदस्यहरूमा कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, जितजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, जगत तिमिल्सिना र नारायणदत्त भट्ट रहेका छन् ।

विष्णुदेवी पुडासैनी र चन्द्र केसी भने तटस्थ रहेका छन् ।

गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि भीष्मराज आङ्देम्बे संसदीय दलको नेता बनेपछि सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाइएको थियो । यसबीचमा सिटौलाले सभापति गगन थापालाई आफूले सभापतिका रूपमा स्वीकार गर्न नसकेको आशयको अभिव्यक्तिसमेत दिएका थिए ।

प्रदेश सभामा पनि देउवा पक्षका जनप्रतिनिधि सक्रिय

देउवा पक्षले गर्न लागेको महाधिवेशनमा विभिन्न प्रदेशका कांग्रेस सांसदहरू पनि सक्रिय देखिएका छन् । उपलब्ध विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही सांसद देउवा पक्षमा खुलेका छन् ।

कोशी प्रदेश सभामा देउवा पक्षमा सक्रिय रहेका सांसदहरूमा केदार कार्की, भूपेन्द्र राई, रामकुमार खत्री, ईन्दिरा थापा, सुनिता गच्छदार, खगेश्वरी पौड्याल रहेका छन् ।

बागमती प्रदेश सभामा विमल ठकुरी, दीपेन्द्र श्रेष्ठ, श्यामबहादुर खड्का, गोविन्द लम्साल, विनु रायमाझी, माया श्रेष्ठ, कञ्चनचन्द्र वादे, मसिना खड्का र उर्मिला नेपाल देउवा पक्षमा खुलेका छन् ।

गण्डकी प्रदेश सभामा जितबहादुर शेरचन, सरस्वती गुरुङ र दीपेन्द्रबहादुर थापा देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेको विवरण छ ।

लुम्बिनी प्रदेश सभामा सरोज थापा (रोज राणा) र माया पुन देउवा पक्षमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा कमलबहादुर शाह, मेघराज खड्का, विक्रमसिंह धामी, सरस्वती खड्का, गीता चौधरी, प्रकाशबहादुर बम, डम्मरी महरा, शिवराज भट्ट र मधुदेवी भारती देउवा पक्षमा खुलेका छन् ।

मधेस प्रदेशमा भने देउवा पक्षको महाधिवेशनमा सक्रिय कुनै पनि कांग्रेस सांसद नरहेको विवरण छ । कर्णाली प्रदेशमा पनि देउवा पक्षमा सक्रिय कांग्रेस सांसद नरहेको जनाइएको छ ।

देउवा पक्षको आपत्ति : अदालतको निर्णयअघि कारबाही गर्न मिल्दैन

सभापति थापा पक्षले जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका बेला देउवा पक्षले भने त्यसको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।

देउवा पक्षले गर्न लागेको महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको निर्णय आउनुअघि जनप्रतिनिधिमाथि कारबाही गर्न नमिल्ने तर्क गरेको छ ।

१५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले सांसदहरू कुन पक्षमा रहने भन्ने विषय उनीहरूको व्यक्तिगत अधिकार भएको बताएका छन् । आधिकारिकताको विवादमा अदालतले निर्णय गरिसकेपछि पनि सांसदहरूले आफ्नो राजनीतिक निर्णय लिन पाउने उनको भनाइ छ ।

कुईकेलले पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेको अवस्थामा जनप्रतिनिधिमाथि कारबाही गर्नु उचित नहुने तर्क गरेका छन् ।

“नेपाली कांग्रेसको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। यस्तो अवस्थामा सांसदहरू कहाँ बस्ने भन्ने उहाँहरूको व्यक्तिगत अधिकारको विषय हो। आधिकारिकताको विषयमा अदालतले निर्णय गरिसकेपछि पनि सांसदहरूले राजनीतिक निर्णय लिन पाउनुहुन्छ। त्यसअघि उहाँहरूमाथि कारबाही गर्न मिल्दैन,” कुईकेलले भनेका छन् ।

उनले कुनै पनि जनप्रतिनिधिलाई कारबाही गर्ने विषयमा पार्टीले हतार गर्न नहुने धारणा राख्दै त्यसले पार्टीलाई नै अप्ठ्यारोमा पार्न सक्ने बताएका छन् ।

संविधानको धारा ८९ र दल त्यागसम्बन्धी विवाद

कांग्रेसभित्रको विवादमा जनप्रतिनिधिको पदमुक्तिसम्बन्धी संवैधानिक व्यवस्थासमेत जोडिएको छ । नेपालको संविधानको धारा ८९ मा संघीय सांसदको पद रिक्त हुने अवस्थाबारे व्यवस्था गरिएको छ ।

उक्त धारामा जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनबमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा सांसदको पद रिक्त हुने व्यवस्था उल्लेख छ ।

तर देउवा पक्षले आफूहरूले दल त्याग नगरेको र कांग्रेसकै झण्डामुनि रहेर महाधिवेशन गर्न लागेको दाबी गरेको छ । त्यसैले पार्टीले मात्रै निर्णय गरेर सांसदको पद समाप्त गर्न नसक्ने उनीहरूको तर्क छ ।

देउवा पक्षका एक नेताले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको र आफूहरू कांग्रेसकै नाम तथा झण्डामा महाधिवेशन गर्न लागेको बताएका छन् ।

उनका अनुसार सम्बन्धित सांसदले दल त्याग गरेको अवस्था प्रमाणित भएपछि मात्रै पदमुक्तिको प्रक्रिया अघि बढ्न सक्छ । प्रदेश सभा सदस्यको हकमा पनि पार्टीको निर्णय मात्रै पर्याप्त नहुने र पद रिक्त हुने विषयमा सभामुखको भूमिका रहने उनको तर्क छ ।

यसरी कांग्रेसभित्रको विवाद अब पार्टीको आन्तरिक नेतृत्व र महाधिवेशनको वैधानिकतामा मात्रै सीमित नरही जनप्रतिनिधिको पद तथा संवैधानिक व्यवस्थासँग समेत जोडिएको छ ।

निर्वाचन आयोगमा आधिकारिकता अद्यावधिक गर्ने प्रतिस्पर्धा

नेपाली कांग्रेसको दुवै पक्षबीचको विवाद निर्वाचन आयोगमा पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्ने विषयमा पनि केन्द्रित भएको छ ।

सभापति गगन थापा नेतृत्वको कांग्रेसले असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न आवश्यक कागजात निर्वाचन आयोगमा बुझाइसकेको छ । आयोगले उक्त कागजात विधानअनुसार भए–नभएको विषयमा अध्ययन गरिरहेको छ ।

यता देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशन सम्पन्न भएपछि आफ्नो पक्षबाट पनि पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको छ ।

आयोगले गगन थापा पक्षले बुझाएको विवरणलाई पहिले नै अद्यावधिक गरेमा देउवा पक्षले नयाँ पार्टीका रूपमा विवरण पेस गर्नुपर्ने अवस्था आउन सक्नेछ । यही कारण दुवै पक्षका लागि निर्वाचन आयोगको निर्णय महत्त्वपूर्ण बनेको छ ।

देउवा पक्षले भने गगन पक्षले प्रदेश महाधिवेशन नगरी सिधै केन्द्रीय महाधिवेशन गरेको भन्दै त्यसका आधारमा निर्वाचन आयोगले विवरण अद्यावधिक नगर्ने दाबीसमेत गर्दै आएको छ ।

विवादको केन्द्रमा महाधिवेशन र जनप्रतिनिधिको पद

नेपाली कांग्रेसभित्रको पछिल्लो विवादले पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता, विधानको व्याख्या र निर्वाचित जनप्रतिनिधिको पदमाथि एकैसाथ प्रश्न उठाएको छ ।

गगन थापा नेतृत्वको पक्षले असोजमै १५औँ महाधिवेशन सम्पन्न भइसकेको दाबी गर्दै देउवा पक्षको आगामी महाधिवेशनलाई नयाँ पार्टीको गतिविधिका रूपमा व्याख्या गरिरहेको छ । अर्कोतर्फ देउवा पक्षले आफूहरू कांग्रेसकै झण्डामुनि महाधिवेशन गर्न लागेको र आधिकारिकताको विवाद अदालतमा विचाराधीन रहेकाले कारबाही गर्न नमिल्ने तर्क गर्दै आएको छ ।

अब कांग्रेसको अनुशासन समिति गठन, जनप्रतिनिधिलाई सोधिने स्पष्टीकरण, सम्भावित कारबाही र निर्वाचन आयोगले गर्ने आधिकारिकता अद्यावधिकसम्बन्धी निर्णयले पार्टीभित्रको विवाद कुन दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्ने देखिन्छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निर्णयले पनि यस विवादको कानुनी पक्षमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।