एडीबीको अनुदानमा सञ्चार पूर्वाधार विस्तार आयोजना, ओटीएन प्रविधि छनोटको प्राधिकरणद्वारा बचाउ

62 Shares

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले सञ्चार तथा स्काडा सञ्जाल विस्तारसम्बन्धी आयोजनामा उठेका उजुरी र प्रश्नबारे सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा अघि बढाइएको उक्त आयोजनाको प्राविधिक विवरण एडीबीका परामर्शदातामार्फत तयार गरिएको हो।

आयोजनामा महँगो तथा पुरानो प्रविधि छनोट गरिएको, कुनै एउटा कम्पनीमा निर्भर हुनुपर्ने अवस्था सिर्जना हुने, अन्तरआवद्धता तथा लागत प्रभावकारितामाथि प्रश्न उठेपछि प्राधिकरणले आन्तरिक छलफल गर्नुका साथै एडीबीका परामर्शदातासँग पटक–पटक परामर्श गरेको उनले बताए ।

विद्यमान संरचनासँग अन्तरआवद्धता कायम गर्न सकिने, उपलब्ध पूर्वाधार उपयोग गर्न मिल्ने र प्राविधिक जनशक्तिलाई सञ्चालन तथा व्यवस्थापनमा सहज हुने भएकाले चरणबद्ध रूपमा प्रविधि स्तरोन्नति गर्ने योजना बनाइएको उनले स्पष्ट पारे ।यस्तै, आयोजना कुनै एउटा कम्पनीलाई मात्र अनुकूल हुने गरी तयार नगरिएको उनको दाबी छ।

नोकिया, जेडटीई, हुवावे, फाइबरहोम, सिस्को र तेजसलगायतका अन्तर्राष्ट्रिय कम्पनीले आवश्यक उपकरण तथा प्रविधि उपलब्ध गराउन सक्ने अवस्था रहेको उनले बताए । आयोजनाको मुख्य उद्देश्य उच्च भोल्टेजका सबस्टेसनसम्म विस्तार भएको प्राधिकरणको सञ्चार तथा स्काडा सञ्जाललाई वितरण तह र शाखा कार्यालयसम्म पु¥याउनु हो।

यसबाट अप्टिकल फाइबरमा आधारित बलियो मूल सञ्चार सञ्जाल निर्माण गरी इन्टरनेट सेवा प्रदायकलगायत अन्य सेवा प्रदायकलाई सञ्चार पूर्वाधार उपलब्ध गराउने लक्ष्य राखिएको छ । साथै, एउटै विद्युत् पोलमा अव्यवस्थित रूपमा विस्तार भएका विभिन्न तारको जञ्जाललाई व्यवस्थित तथा न्यूनीकरण गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।