दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

12 Shares

काठमाडौं । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्‍याउनुपर्ने माग गरे ।

उनका अनुसार दाना, चोकरलगायत पशु आहार तथा औषधोपचारको खर्च बढ्दा दूध उत्पादन लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ । विगत तीन–चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको उनले बताए ।

बजारमा उपभोक्ताले दूधको मूल्य बढी तिर्नुपरे पनि किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक मारमा परेको सङ्घको भनाइ छ । महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरेको तर उपभोक्ताले बजारमा प्रतिलिटर १२० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताइन् । दूधको मूल्य नबढ्दा पशु आहार, औषधोपचार र अन्य व्यवस्थापन खर्च धान्न कठिन भएको उनले बताइन् ।

सङ्घका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानले दैनिक करिब १० हजार लिटर खरिद गर्दै आएको छ । कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले पनि दूध सङ्कलन गर्दै आएका छन् । जिल्लाका २७ दुग्ध उत्पादक सहकारी संस्था तथा दूध सङ्कलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् ।

किसानले दुग्ध विकास संस्थानबाट भदौ १५ गतेदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार धनकुटाका किसानले संस्थानबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

सङ्घले मङ्सिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नभए मङ्सिर १६ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । माग सम्बोधन नभए गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने र उत्पादित दूध बजारमा नपठाई भण्डारण गर्ने अध्यक्ष कटुवालले बताए ।

सरकारले पटकपटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको सङ्घको आरोप छ । किसानले उत्पादन लागतका आधारमा दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन् ।