प्रधानमन्त्री शाहको भारत भ्रमणः नयाँ हवाई रुटमा सहमति हुने सम्भावना

16 Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट)का विषयमा महत्त्वपूर्ण सहमति हुने सम्भावना रहेको छ ।

प्रधानमन्त्री शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरिसकेका छन् । यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश बिन्दु ‘एयर रुट’मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले जानकारी दिएको छ । झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ ।

नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । पछिल्लो द्विपक्षीय छलफलमा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइबाट जहाज प्रवेश गर्न दिन सकारात्मक देखिएको छ ।

यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन सकिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय पक्ष सकारात्मक देखिएको जनाएको छ । नेपालले तत्काल सम्भव हुने तीन वटा हवाई प्रवेश मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्ताबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ । भारतले यी विषयमा छुट्टाछुट्टै सहमति गर्नुभन्दा समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार भारतीय पक्षसँग हवाई प्रवेश बिन्दुका विषयमा प्याकेजमै छलफल भइरहेको छ ।

“महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ”, उनले भने, “भारतीय पक्षले प्याकेजमै सहमति खोजेको छ । हाम्रो तर्फबाट भने छुट्टाछुट्टै सहमति गरेर पहिला तीन क्षेत्रमा हवाई प्रवेश सुरु गरौँ र बाँकी विषय क्रमशः संवादबाट टुङ्ग्याउँदै जाऔँ भन्ने प्रस्ताव गरेका छौँ ।”

मन्त्रालयका अनुसार कुन–कुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम टुङ्गो लागिसकेको छैन । यद्यपि, पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणमा सहमति जुट्ने सम्भावना बढाएको छ ।

नेपालले भैरहवा, जनकपुर र महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग सञ्चालन गर्ने र बाँकी विषयमा छुट्टै प्राविधिक तथा कूटनीतिक छलफल गर्ने प्रस्ताव गरेको छ ।

महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तरराष्ट्रिय उडानलाई वैकल्पिक मार्ग प्राप्त हुनेछ । यसले सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता घटाउन र पश्चिमी क्षेत्रका विमानस्थलमा उडान सञ्चालन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रस्तावित उचाइ व्यावहारिक रूपमा कति उपयोगी हुन्छ भन्ने विषयमा प्राविधिक अध्ययन आवश्यक छ । विमानको प्रकार, उडान दिशा, हवाई यातायात व्यवस्थापन, मौसम तथा सुरक्षालाई ध्यानमा राखेर मार्ग निर्धारण गर्नुपर्ने बताइएको छ ।

भैरहवा र जनकपुरका लागि कम उचाइको रुट

महेन्द्रनगरबाट उच्च उचाइमा जहाज प्रवेश गराउने प्रस्तावसँगै भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको मन्त्रालयको भनाइ छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्त्वपूर्ण मानिन्छ । भारततर्फको सहज प्रवेश तथा बहिर्गमन मार्ग नहुँदा विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती देखिएको छ ।

त्यस्तै, जनकपुरबाट अन्तरराष्ट्रिय उडानका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा छ । नेपालले यी मार्गलाई प्राथमिकताका साथ अघि बढाउन खोजे पनि प्रवेश बिन्दु, उडानको उचाइ र सञ्चालन प्रक्रियाबारे प्राविधिक सहमति हुन बाँकी छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा ठूलो लगानी भए पनि अपेक्षित रूपमा अन्तरराष्ट्रिय उडान विस्तार हुन सकेको छैन ।

हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तरराष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ । यसले पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्दा मार्ग व्यवस्थापनमा कठिनाइ हुने गरेको छ ।

भैरहवाबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बहिर्गमन मार्ग आवश्यक छ । पोखरा विमानस्थलको अन्तरराष्ट्रिय उडान विस्तारका लागि सहज हवाई सम्पर्क महत्त्वपूर्ण मानिएको छ ।

थप हवाई रुट उपलब्ध भएमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलमा उडान सञ्चालन गर्न सहज हुने र त्यसबाट पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो । त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन भनिएको थियो । त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि नेपालले नयाँ हवाई प्रवेश मार्ग प्राप्त गर्न सकेको छैन ।

विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि हवाई रुटको विषय प्रमुख एजेन्डामा समावेश थियो । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटका विषयमा द्विपक्षीय सहमति खोज्ने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल यस विषयमा छलफल गर्न भारत पुगेका थिए । नयाँदिल्लीमा यही मङ्सिर ४ देखि ६ गतेसम्म आयोजना भएको साङ्घाइ सहयोग सङ्गठन (एससीओ)को सिभिलाइजेशन डाइलग फोरममा सहभागी हुने क्रममा उनले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गरेका थिए ।

यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग छलफल गरेको थियो । प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखा प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी थिए ।