यो भारतका हजारौँ दर्शकले खचाखच भरिएको क्रिकेट रंगशाला होइन । न त ऐतिहासिक लड्र्स मैदानमा भारत र अस्ट्रेलियाबीच भइरहेको टेस्ट म्याच नै हो । यो त काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल हो। मैदानमा दर्शकको उस्तै भीड छ, हुटिङ उस्तै छ र खेलप्रतिको रोमाञ्च पनि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा कम छैन ।
तर यो दृश्य काठमाडौंको त्रिवि क्रिकेट मैदानमा मात्रै सीमित थिएन । मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच एनपीएलको दोस्रो क्वालिफायर चलिरहँदा सुदूरपश्चिमको धनगढी पनि क्रिकेटमय बनेको थियो । काठमाडौंमा समर्थकहरू मैदानमै पुगेर आफ्नो टिमको हौसला बढाइरहेका थिए भने धनगढीका सडकमा हजारौँ समर्थक ठूलो पर्दामा खेल हेर्न भेला भएका थिए ।
बिहीबार राति धनगढीको जेनजी मार्गमा देखिएको दृश्यले सबैको ध्यान तान्यो । सडकमा मानिसको बाक्लो भीड थियो । कोही ठूलो पर्दामा खेल हेरिरहेका थिए, कोही आफ्नो टिमको पक्षमा हुटिङ गरिरहेका थिए । प्रत्येक रनसँगै समर्थकको उत्साह बढ्थ्यो, विकेट झर्दा सन्नाटा छाउँथ्यो र सुदूरपश्चिमले राम्रो प्रदर्शन गर्दा सडक नै गुञ्जायमान बन्थ्यो ।
खेलको अन्तिम नतिजा सुदूरपश्चिमको पक्षमा आयो । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश ग¥यो । त्यसपछि त धनगढीको उत्साहले सीमा नै नाघ्यो । जितको खुसीमा समर्थकहरू सडकमा झुमे । नाराबाजी र हुटिङले रात अबेरसम्म धनगढीको वातावरण गुञ्जायमान बन्यो ।
एउटा क्रिकेट खेलका लागि सिंगो सहर यसरी सडकमा उत्रिनु सामान्य दृश्य होइन । तर धनगढीका लागि यो नौलो पनि होइन । यहाँ क्रिकेट केवल खेल होइन, भावना हो । यहाँ क्रिकेट मनोरञ्जन मात्रै होइन, सहरको पहिचान पनि हो । आफ्नो टिमले जित्दा खुसी हुने र हार्दा पनि साथ नछाड्ने समर्थकको यही लगावले धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाएको छ ।
क्रिकेटका लागि सडकमा उत्रिन्छ सिंगो सहर
धनगढीमा क्रिकेटप्रतिको मोह कति गहिरो छ भन्ने बुझ्न कुनै तथ्यांक वा सर्वेक्षण आवश्यक पर्दैन । क्रिकेट खेल भइरहेको दिन सहरको माहोल हेरे पुग्छ । आफ्नो टिमको खेल हुँदा समर्थकको चासो, मैदानमा पुग्ने दर्शकको उत्साह र सडकमा देखिने भीडले नै यहाँ क्रिकेटको लोकप्रियता कति छ भन्ने प्रस्ट पार्छ ।
काठमाडौंको त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्सको खेल हुँदा समर्थकको उपस्थिति उल्लेख्य हुन्छ । अझ धनगढीमा त खेल हेर्नकै लागि सडकमा ठूलो भीड जम्मा हुन्छ । टेलिभिजन वा ठूलो पर्दामा खेल हेर्दै आफ्नो टिमको प्रत्येक रनमा रमाउने र विपक्षीको विकेट खस्दा खुसी साट्ने समर्थकको उत्साह हेर्दा लाग्छ, खेलाडी मैदानमा मात्रै छैनन्, हजारौँ समर्थक पनि उनीहरूसँगै खेलिरहेका छन् ।
सुदूरपश्चिमको टिमले खेल जित्दा धनगढीमा त्यसको खुसी एउटा परिवार वा समूहमा सीमित हुँदैन । सिंगो सहरले जितको उत्सव मनाउँछ । टिमको जितलाई आफ्नो जित ठान्ने र खेलाडीलाई आफ्नै प्रतिनिधिका रूपमा हेर्ने समर्थकको भावना नै सुदूरपश्चिमको क्रिकेट क्रेजको विशेषता हो ।
धनगढीका सडकमा देखिएको यो दृश्यले एउटा अर्को सन्देश पनि दिएको छ, नेपाली क्रिकेटको लोकप्रियता राजधानी वा ठूला सहरमा मात्रै सीमित छैन । देशको सुदूरपश्चिम कुनामा पनि क्रिकेटप्रतिको मोह उत्तिकै गहिरो र व्यापक छ ।
त्यसै भनिएको होइन ‘सिटी अफ क्रिकेट’
धनगढीलाई ‘सिटी अफ क्रिकेट’ भनिनुको पछाडि लामो क्रिकेट यात्रा छ । धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिताले यो सहरलाई नेपाली क्रिकेटको नक्सामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेले । राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने, नयाँ खेलाडीलाई अवसर दिने र क्रिकेटप्रति आम नागरिकको आकर्षण बढाउने काममा धनगढीले छुट्टै पहिचान बनाएको छ ।
यहाँ क्रिकेटप्रतिको आकर्षण एउटा प्रतियोगिता वा एउटा टिममा मात्र सीमित छैन । स्थानीयस्तरका प्रतियोगितादेखि राष्ट्रिय प्रतियोगितासम्म दर्शकको चासो देखिन्छ । क्रिकेट खेल्ने युवाको संख्या, खेलप्रतिको आकर्षण र आफ्नो क्षेत्रको टिमलाई समर्थन गर्ने संस्कृतिले यहाँ क्रिकेटको बलियो आधार निर्माण गरेको छ ।
एनपीएलमा सुदूरपश्चिम रोयल्सप्रति देखिएको समर्थन त्यसैको निरन्तरता हो । समर्थकका लागि यो एउटा फ्रेन्चाइज टिमको खेल मात्रै होइन । यो आफ्नो क्षेत्रको प्रतिनिधित्व, पहिचान र गौरवसँग जोडिएको विषय हो ।
सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिँदा समर्थकले खेलाडीको प्रदर्शन मात्रै हेर्दैनन्, उनीहरूले आफ्नो क्षेत्रको प्रतिष्ठा पनि मैदानमा देख्छन् । त्यसैले जितमा खुसीको सीमा रहँदैन र हारमा पनि टिमप्रतिको माया घट्दैन । यही भावनात्मक सम्बन्धले सुदूरपश्चिमको क्रिकेटलाई अझ विशेष बनाएको छ ।
समर्थकको उत्साहलाई पूर्वाधारमा बदल्ने बेला
क्रिकेटप्रतिको यति ठूलो लगाव र जनसमर्थन आफैँमा ठूलो सम्भावना हो । तर यसलाई अझ उचाइमा पु¥याउन आवश्यक पूर्वाधारको विकास पनि उत्तिकै महत्वपूर्ण छ ।
धनगढीको क्रिकेट पहिचानसँग जोडिएको महत्वपूर्ण सपना हो– फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । लामो समयदेखि चर्चामा रहेको यो परियोजना जग्गा व्यवस्थापन तथा अन्य प्रक्रियागत समस्याका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । वर्षैपिच्छे बजेट र योजना चर्चामा आए पनि रंगशाला निर्माणले ठोस गति लिन नसक्नु दुःखद पक्ष हो ।
धनगढीमा क्रिकेटप्रेमी छन्, समर्थक छन्, खेलाडी छन् र क्रिकेटप्रति समर्पित ठूलो समुदाय छ । तर अन्तर्राष्ट्रियस्तरको खेल मैदान र व्यवस्थित प्रशिक्षण पूर्वाधारको अभाव छ । यस्तो अवस्थामा फाप्ला रंगशालाको निर्माण केवल एउटा भौतिक संरचना बनाउने विषय होइन, सुदूरपश्चिमको क्रिकेट भविष्यसँग जोडिएको सपना हो ।
सरकारले यहाँको क्रिकेट क्रेजलाई सम्भावनाका रूपमा बुझेर लगानी गर्न आवश्यक छ । फाप्ला रंगशाला निर्माणलाई प्राथमिकतामा राख्ने, खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्ने र नियमित प्रतियोगिताको वातावरण बनाउने हो भने धनगढी नेपाली क्रिकेटको महत्वपूर्ण केन्द्र बन्न सक्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया