प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

22 Shares

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि सुरु हुने भारत भ्रमणलाई सफल, उपलब्धिमूलक र राष्ट्रिय हितअनुकूल बनाउन आग्रह गरेको छ। कांग्रेसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हित सुनिश्चित हुने गरी भ्रमणका एजेन्डा तय गर्नुपर्नेमा जोड दिएको हो।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै भ्रमणलाई नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। उनले दुई राष्ट्रबीचको सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउनुपर्ने उल्लेख गरेका छन्।

सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको जनाएको छ।

उक्त विमर्शमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्यालगायत विषयमा छलफल गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन पार्टीले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ। साथै, दुई देशबीचको सम्बन्धका सम्भावना, अवसर र व्यावहारिक जटिलताबारे पार्टीसँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण गर्न सके अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान थप बलियो हुने धारणा व्यक्त गरेको छ।

नेपालको राष्ट्रिय हितको संरक्षण र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको कांग्रेसको भनाइ छ। भ्रमणका क्रममा विगतमा भएका प्रतिबद्धताको कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान तथा पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा विशेष ध्यान दिनुपर्ने कांग्रेसले जनाएको छ।

कांग्रेसका वरिष्ठ उपसभापति शर्माले प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्ण सफलताको कामना गर्दै भ्रमणको सफलतासँग नेपालको सफलता पनि जोडिएको उल्लेख गरेका छन्।