करिब ११ अर्ब रुपैयाँ अपचलनको आरोपमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

73 Shares

सर्वसाधारण बचतकर्ताको करिब ११ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा लामो समयदेखि फरार रहेका बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (शिव लामिछाने) पक्राउ परेका छन् । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले पनि उनको पक्राउ पुष्टि गरेका छन् । बराह सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोप छ । यस प्रकरणमा २६२ जनाविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सहकारीका हजारौँ बचतकर्ताको रकम बराह ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा लगानी गरिएको अनुसन्धानबाट खुलेको छ । सहकारीको कुल दायित्व १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ । धरान उपमहानगरपालिकाले २०८२ भदौ २२ गते बराह सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारीको कारोबार बन्द भएपछि हजारौँ बचतकर्ता आफ्नो रकम फिर्ता पाउनबाट वञ्चित हुँदै आएका छन् । लामिछानेको पक्राउसँगै लामो समयदेखि फरार रहेका सहकारीका अन्य सञ्चालक तथा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धानलाई पनि तीव्र बनाउने प्रहरीले जनाएको छ ।