बझाङमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एकै परिवारका सदस्यले गुमाए ज्यान

51 Shares


बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० निवासी राजमति महरा, उनका १६ वर्षीया भतिजी तारा महरा, ६ वर्षीया डल्ली महरा र ४ वर्षीय रियास महराको मृत्यु भएको हो । अटोमा चालकसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवार १३ वर्षीय विक्रम महरा भने सकुशल रहेका छन् ।

दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एकै परिवारका चार जनाको मृत्यु भएपछि परिवार तथा स्थानीय क्षेत्रमा शोक छाएको छ ।