काठमाडौं। सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। गाईको दूध, फूल र जलसहित सूर्यदेवको पूजा आराधना गरी अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने धार्मिक विधि छ।
छठको अन्तिम दिन बिहान घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ। सूर्योदयको समयमा व्रतालुहरू पानीमा डुबेर सूर्यको दर्शन गर्दै अर्घ्य अर्पण गर्छन्। यससँगै चार दिनदेखि जारी व्रतसमेत समापन हुन्छ।
पृथ्वीमा रहेका सम्पूर्ण जीवको जीवन सञ्चालन र संरक्षणमा जल तथा सूर्यको महत्त्वपूर्ण भूमिका रहने भएकाले नदीलाई माताका रूपमा र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानेर छठमा विशेष पूजा गर्ने धार्मिक विश्वास छ। यस अवसरमा विवाहित महिला तथा पुरुषले पति वा पत्नीको दीर्घायु र परिवारको सुख, समृद्धिको कामना गर्छन्।
अविवाहिताले सुयोग्य वर वा वधु प्राप्तिको कामना गर्ने तथा सन्तान प्राप्ति र सन्तानको सुख, स्वास्थ्यका लागि समेत यो पर्व मनाउने प्रचलन छ। छठको व्रत बसे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
पर्वको पहिलो दिन चतुर्थीमा स्नान गरी चोखो खाना खाएर व्रत सुरु गरिन्छ। त्यसपछि पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरोलगायतका खानेकुरा त्याग्ने धार्मिक विधि छ। विशेषगरी महिलाले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ कठोर व्रत गर्ने गर्छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया