त्रिभुवन विमानस्थलबाट २२ करोड रुपैयाँको हेरोइनसहित भारतीय नागरिक पक्राउ

137 Shares


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बरामद गरिएको लागुऔषधको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरेको हो । उनी नोभेम्बर १४ मा थाइल्यान्डबाट काठमाडौं आएका थिए । विमानस्थलमा शंकास्पद यात्रुमाथि निगरानी तथा जाँच गर्ने क्रममा उनको लगेजबाट लागुऔषध फेला परेको थियो ।

उनले बिरालो र खरायोको खानेकुराका प्याकेटभित्र लुकाएर हेरोइन ल्याएको पाइएको छ । बरामद गरिएको हेरोइन भारत पु¥याउने उद्देश्यले ल्याइएको आशंका गरिएको छ । घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारको सञ्जाल पहिचान गर्न प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।