अकस्मात् वर्षाले रानीपोखरीस्थित बालगोपालेश्वरमा भाइटीका प्रभावित, भक्तजनको उपस्थिति पातलियो

8 Shares

काठमाडौँ । अकस्मात् परेको वर्षाका कारण काठमाडौँको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने कार्यक्रम प्रभावित भएको छ। भाइटीकाका दिन बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको मन्दिर परिसरमा अपराह्न अचानक वर्षा भएपछि टीका लगाउन आउनेहरूलाई असहज भएको हो।

बुधवार बिहानैदेखि दाजुभाइ तथा दिदीबहिनी नभएका व्यक्तिहरू भाइटीका लगाउन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुगेका थिए। परम्पराअनुसार दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले यस मन्दिरमा पुगेर पूजा, दर्शन तथा टीका लगाउने गर्दछन्। सोही परम्परालाई निरन्तरता दिँदै बिहानैदेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको थियो।

तर, अपराह्न अकस्मात् पानी पर्न थालेपछि मन्दिर परिसरमा टीका लगाउने कार्य प्रभावित भएको हो। वर्षाका कारण टीका लगाउन र धार्मिक विधि पूरा गर्न कठिनाइ भएको बालगोपालेश्वर मन्दिर पुग्नुभएका भक्तजन रामजी नेपालले जानकारी दिनुभयो।

वर्षा निरन्तर भइरहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति क्रमशः पातलिँदै गएको देखिएको छ। बिहानको समयमा भक्तजनको उल्लेख्य भीड देखिए पनि मौसम प्रतिकूल बनेपछि मन्दिरमा आउनेहरूको संख्या घटेको हो।

दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि बालगोपालेश्वर मन्दिर भाइटीकाको विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा परिचित छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा पुगेर सर्वसाधारणले पूजा–आराधना गरी टीका लगाउने परम्परा रहिआएको छ। विशेषगरी दिदीबहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीहरू यहाँ पुगेर भाइटीका मनाउने गर्दछन्।

रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। विसं २०३५ पछि रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका अवसरमा नियमित रूपमा खुल्न थालेको हो। त्यसयता प्रत्येक वर्ष भाइटीकाका दिन मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै आएको छ।

यसअघि विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पका कारण रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा ठूलो क्षति पुगेको थियो। मन्दिर क्षतिग्रस्त भएपछि केही वर्ष भाइटीका लगाउने परम्परासमेत प्रभावित बनेको थियो। भूकम्पपछिको पुनर्निर्माणका क्रममा मन्दिरको ऐतिहासिक तथा मौलिक स्वरूपलाई ध्यान दिँदै पुनर्निर्माण गरिएको थियो।

पुनर्निर्माण सम्पन्न भएपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गर्न थालिएको हो। त्यसयता प्रत्येक वर्ष भाइटीकाका दिन मन्दिरमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने गरेको छ।

भाइटीका नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव, आत्मीयता र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ। यही पर्वमा दाजुभाइ वा दिदीबहिनी नहुनेहरूका लागि बालगोपालेश्वर मन्दिरले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिने विशेष अवसर प्रदान गर्दै आएको छ।

यस वर्ष पनि बिहानैदेखि भक्तजनको उत्साहजनक सहभागिता देखिए पनि अपराह्न परेको अकस्मात् वर्षाले भाइटीका कार्यक्रमलाई केही हदसम्म प्रभावित बनाएको छ। मौसम प्रतिकूल हुँदा मन्दिर परिसरमा भक्तजनको चहलपहल घटेको भए पनि बालगोपालेश्वरमा भाइटीका मनाउने परम्पराप्रतिको आस्था र विश्वास भने कायम रहेको छ।