एनभिडिया प्रमुखको चिनियाँ जासुसी आशङ्कित महिलासँग सम्बन्धको खुलासा, अमेरिकामा तरङ्ग

11 Shares

काठमाडौँ । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशङ्का गरिएकी महिलाको सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि अमेरिकी राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

यस प्रकरणले अमेरिका–चीन प्रविधि प्रतिस्पर्धालाई थप पेचिलो बनाउनुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको चीनप्रतिको प्रविधि निर्यात नीतिमाथि समेत प्रश्न उठाएको छ।

हुआङले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीकी पूर्वकार्यकारी एलिस हुआङसँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेको बताइएको छ। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन्। यद्यपि, उनी जासुसी गतिविधिमा संलग्न रहेको पुष्टि भइसकेको छैन।

राष्ट्रपति ट्रम्पले भने एनभिडिया प्रमुख हुआङको बचाउ गरेका छन्। हुआङलाई सम्मानित व्यक्ति बताउँदै ट्रम्पले सम्बन्धित महिला जासुस भएकोबारे उनलाई जानकारी नभएको उल्लेख गरेका छन्।

चीनमा एआई चिप निर्यातको निर्णय विवादमा
एनभिडियाका प्रमुख हुआङ लामो समयदेखि चीनमा अमेरिकी उन्नत एआई चिप निर्यात गर्न पाउनुपर्ने पक्षमा पैरवी गर्दै आएका छन्। उनको प्रयासपछि ट्रम्प प्रशासनले गत वर्ष एनभिडियाको शक्तिशाली एच–२०० चिप चीनमा बिक्री गर्न अनुमति दिएको बताइएको छ।

तर, अमेरिकी राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील मानिने उन्नत प्रविधि चीनमा निर्यात गर्ने निर्णयको विरोध गर्दै आएका सांसदहरूले पछिल्लो विवादलाई निर्यात नियन्त्रण थप कडा बनाउने आधारका रूपमा अघि सारेका छन्।

विशेष गरी रिपब्लिकन सांसदहरूले हुआङको व्यक्तिगत सम्बन्ध, सम्भावित सुरक्षा जोखिम र एनभिडियाको आन्तरिक सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएका छन्।

यसै सन्दर्भमा नोभेम्बर १८ मा हुआङसँग बन्द कोठामा छलफल गर्ने तयारी भइरहेको जनाइएको छ। उक्त छलफलमा चिनियाँ गुप्तचर गतिविधिको सम्भावित जोखिम र अमेरिकी प्रविधिको सुरक्षासम्बन्धी विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

अमेरिकी संसद्मा कडा कानुन ल्याउने तयारी
पछिल्लो घटनाक्रमले चीनमा अत्याधुनिक एआई चिप निर्यातमाथि थप नियन्त्रण लगाउने प्रयासलाई बल पुर्‍याउन सक्ने विश्लेषण गरिएको छ।

अमेरिकी काङ्ग्रेसमा चीनतर्फ हुने संवेदनशील प्रविधि निर्यातको अनुमति समीक्षा गर्न तथा आवश्यक परे रोक लगाउन सक्ने अधिकारसम्बन्धी द्विदलीय विधेयक अघि बढ्ने सम्भावना बढेको छ।

अमेरिकी सांसदहरूको एउटा समूहले अत्याधुनिक एआई प्रविधि चीनको पहुँचमा पुग्नु राष्ट्रिय सुरक्षाका लागि दीर्घकालीन चुनौती बन्न सक्ने तर्क गर्दै आएको छ।

अमेरिका–चीन व्यापार सम्बन्धमा नयाँ चुनौती
यद्यपि, चीनमाथि थप कडा प्रविधि प्रतिबन्ध लगाउने विषय अमेरिकाका लागि सहज भने देखिँदैन।

राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कायम व्यापारिक समझदारीमा नयाँ तनाव उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

विश्लेषकहरूका अनुसार अमेरिकाले उन्नत चिप निर्यातमा थप प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी प्रविधि उद्योगसँग जोडिएका आपूर्ति शृङ्खलामा प्रतिकारात्मक कदम चाल्न सक्छ।

यसले दुई मुलुकबीचको व्यापारिक सम्बन्ध मात्र नभई विश्वव्यापी एआई उद्योग र सेमिकन्डक्टर बजारमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

एफबीआई र न्याय मन्त्रालयको अनुसन्धान
यस प्रकरणसँग सम्बन्धित जासुसीको आशङ्काबारे अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको बताइएको छ।

त्यसै गरी अमेरिकी न्याय मन्त्रालयले एनभिडियाका उन्नत चिप चीनमा अवैध रूपमा तस्करी भएका थिए वा थिएनन् भन्ने विषयमा छुट्टै छानबिन गरिरहेको जनाइएको छ।

सिङ्गापुरस्थित मेगास्पिड कम्पनीले भने चिप तस्करीसम्बन्धी आरोप अस्वीकार गरेको छ। चीनले पनि जासुसीसम्बन्धी दाबीलाई खारेज गरेको छ।

हालसम्म सार्वजनिक विवरणका आधारमा एनभिडिया प्रमुख हुआङ कुनै गैर कानुनी गतिविधिमा संलग्न रहेको पुष्टि भएको छैन।

एनभिडियाको प्रभाव घटाउने प्रयास ?
विश्वव्यापी एआई प्रविधिको विकासमा एनभिडियाको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ। विशेष गरी उन्नत एआई प्रणाली सञ्चालनका लागि आवश्यक शक्तिशाली चिप उत्पादनमा कम्पनीको प्रभाव ठुलो छ।

विश्लेषकहरूका अनुसार हुआङमाथि कुनै गलत काम गरेको पुष्टि भएमा वा उनी कम्पनीको नेतृत्वबाट बाहिरिनुपर्ने अवस्था आए अमेरिकी एआई उद्योगमा त्यसको असर पर्न सक्छ।

तर, तत्कालका लागि यस प्रकरणको सबैभन्दा महत्त्वपूर्ण प्रभाव अमेरिकी प्रशासन र काङ्ग्रेसभित्र एनभिडियाले राख्दै आएको नीतिगत प्रभाव कमजोर हुनु हुन सक्ने उनीहरूको आकलन छ।

अमेरिका र चीनबीच एआई प्रविधिमा विश्वव्यापी नेतृत्व कायम गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला सार्वजनिक भएको यो प्रकरण व्यक्तिगत सम्बन्धको विवादमा मात्र सीमित नरही प्रविधि, व्यापार र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील राजनीतिक मुद्दाका रूपमा अघि बढेको छ।