धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन

8 Shares
काठमाडौं । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

उनका अनुसार तिहारका बेला जुवातास, पटका पड्काउने, आगलागीलगायतका घटना नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिएको छ । शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा निगरानी टोलीसमेत परिचालन गरिएको उनले बताए ।

चाडपर्वमा धेरै मानिस घर छाडेर गाउँ तथा अन्य स्थानमा जाने भएकाले चोरीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाइएको खनालले बताए । घर छाडेर बाहिर जानुपर्दा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेख गर्ने व्यक्ति राख्न उनले नागरिकलाई आग्रह गरे ।

त्यस्तै, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा अत्यधिक महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि उनले अनुरोध गरे । यसले लुटपाट तथा चोरीका घटनाबाट जोगिन सहयोग पुग्ने उनको भनाइ थियो ।

खनालले तिहार र छठलाई लक्षित गरी धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिँदै शान्ति सुरक्षा कायम गर्न सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको निगरानी टोली खटाइएको बताए ।

चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।