नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

13 Shares

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ ।

र्‍यालीमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सहभागी हुनुभएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए ।

नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ । काँग्रेस महानगर समितिले आयोजना गरेको र्‍यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।

र्‍यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।