औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव

10 Shares

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राख्नुभएको छ । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमवार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गर्नुभएको हो ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहकार्यको प्रश्ताव राखेको बताउनुभयो । उहाँले नेपालमा औषधि उद्योग संचालन गर्न सकेमा नेपाली जनताले सहुलियतमा औषधि प्राप्त गर्न सक्ने उहाँको भनाई छ 

उहाँकाअनुसार स्विट्जरल्याण्डका अध्यक्ष पाजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अध्यक्ष दाहालले नेपाललाई विकास साझेदारका रूपमा स्विजरल्याण्डले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँले विपद्का समयमा स्विजरल्याण्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । हालै भोटेकोशी बाढीबाट प्रभावितका लागि स्विट्जरल्याण्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो ।

उहाँले भन्नुभयो, ‘हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि स्विट्जरल्यान्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेकोमा पनि धन्यवाद व्यक्त गरेँ । यसैगरी, नेपाल र स्विट्जरल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा शुभकामना आदानप्रदान गरियो । स्विजरल्याण्डमा राम्रा–राम्रा औषधि उद्योगहरू छन्, कम्पनीहरू छन्, ठूला–ठूला विश्व स्ट्याण्डर्डका ।

त्यो यदि सम्भव हुन्छ भने सरकारीस्तरबाटै नेपालमा पनि औषधि उद्योग स्थापना गर्न सहयोग भएमा नेपाली जनतालाई अलि सहुलियत हुने थियो भनेर मैले प्रस्ताव गरेको थिएँ । उहाँले सिधै के प्रश्ताव राखिदिनुभयो भने तपाईँहरूलाई के–के हो, तपाईँहरूको आवश्यक्ता भन्नुस्, हामी त्यसको लागि पहल गर्छौँ भन्ने खालको उहाँले राख्नुभयो । उहाँले नेपालका आवश्यकता पहिचान गरी त्यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मैले सम्बन्धित निकायसँग यस विषयलाई गम्भीरतापूर्वक राख्ने प्रतिबद्धता व्यक्त गरेँ । त्यसैगरी, दुई देशबीच संसदीयमैत्री समूह गठन गर्ने विषयमा पनि छलफल भयो ।

उहाँले स्विट्जरल्यान्डमा पनि संसदीय मैत्री समूह गठन गर्छौ भन्नुभयो, यहाँबाट जाने बित्तिकै हामी बनाउँछौँ भन्नुभएको छ । यो संसदीय समूह मार्फत दुई देशको संसदीय अभ्यासलाई आदानप्रदान गर्ने र सहयोग गर्ने सहमति भएको छ ।’ नेपाल र स्विट्जरल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदान गरेका थिए ।

भेटमा दुई देशबीच संसदीय सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । साथै संसदीय मैत्री समूह गठन गरी संसदीय अभ्यास, अनुभव र ज्ञान आदानप्रदानलाई अघि बढाउने सहमति भएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न स्विट्जरल्याण्डले पु¥याएको सहयोगको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । भेटमा अध्यक्ष पाजले दाहालले उठाएका विषयहरू चासोपूर्वक सुनेको र सहयोगका प्रश्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।