पाकेको धान खेतमै ढल्यो, सप्तरीका किसानलाई उत्पादन भित्र्याउन सकस

42 Shares

धान काटेर घर भित्र्याउने तयारीमा रहेका सप्तरीका किसानलाई ‘अर्णव’ चक्रवातको प्रभावले परेको वर्षा र हावाहुरीले समस्यामा पारेको छ । पछिल्लो तीन दिनको प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा पाकेको धान खेतमै ढलेपछि किसान चिन्तित बनेका छन् ।

डाक्नेश्वरी, खडक, रुपनी नगरपालिका तथा महदेवा र तिरहुत गाउँपालिकालगायत क्षेत्रमा धानबाली प्रभावित भएको छ । हावाहुरीले धानका बाला ढलाएको छ भने खेतमा पानी जम्दा काट्न तयार भएको बाली भित्र्याउन कठिन भएको छ । काटेर राखिएको धान र परालसमेत वर्षाले भिजाएको छ । लामो पराल भएका धानका जात बढी ढलेका छन् ।

खेतमा पानी जमेकाले कृषि औजार र मेसिन प्रयोग गरेर धान काट्नसमेत समस्या भएको किसानहरूको भनाइ रहेको छ । भिजेको धान समयमै सुकाउन नसक्दा बालामै अङ्कुरण सुरु हुने जोखिम पनि देखिएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताले जिल्लामा करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको बताएको छ ।

यस वर्ष खेतीयोग्य जमिनमा शतप्रतिशत रोपाइँ भएको थियो । चक्रवातको प्रभावले विभिन्न स्थानमा सामान्यदेखि आंशिक क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । हाल विभिन्न स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन भइरहेको छ ।