कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

11 Shares

काठमाडौँ । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलाशय भरिन लागेसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय प्रशासन र जलविद्युत् आयोजनाले चेतावनी जारी गरेका हुन्।

प्राप्त जानकारीअनुसार कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम पानी भण्डारण क्षमता एक हजार ५३० मिटर रहेको छ। यसअनुसार जलाशयको पानीको सतह अधिकतम क्षमताभन्दा करिब २.०७ मिटर मात्र कम रहेको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। वर्षा जारी रहेमा केही घण्टामै पानीको सतह एक हजार ५२८ मिटर नाघ्न सक्ने अनुमान गरिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुलेखानी जलाशयको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपास बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले नदीकिनारबाट टाढा रहन, अग्लो तथा सुरक्षित स्थानमा बस्न र जलविद्युत् आयोजनाबाट जारी गरिने सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन अनिवार्य रूपमा पालना गर्न अनुरोध गरेका छन्।

बाँधका ढोका खोल्नुपर्ने अवस्था आए साइरन बजाइने

कुलेखानी जलविद्युत् केन्द्रले पनि जलाशयमा पानीको सतह बढिरहेको भन्दै चेतावनी जारी गरेको छ। जलाशयको पानीको सतह सन्तुलित राख्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने आयोजनाले जनाएको छ।

जलविद्युत् केन्द्रका प्रमुख राउतका अनुसार बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन चेतावनीको साइरन बजाइनेछ।

उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई समेत विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

लगातारको वर्षाले जलाशयमा पानीको सतह बढ्दै गएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिमलाई बेवास्ता नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

विशेषगरी नदीकिनारमा बसोबास गर्ने नागरिक, माछा मार्ने व्यक्ति, किसान तथा आवतजावत गर्ने यात्रुले नदीको बहाव र जलाशयसम्बन्धी सूचनामा ध्यान दिन आवश्यक छ। सम्भावित जोखिमबाट जोगिन प्रशासन तथा आयोजनाले जारी गरेका चेतावनी र निर्देशन पालना गर्न सबैलाई अनुरोध गरिएको छ।