उदयपुरमा मंसिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

10 Shares

काठमाडौँ । उदयपुरको गाईघाटमा आगामी मंसिर १७ देखि २७ गतेसम्म तेस्रो कोशी प्रदेशस्तरीय महोत्सव आयोजना हुने भएको छ । त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा त्रियुगा नगरपालिका–३ स्थित बसपार्क नजिक त्रियुगा नदी किनारमा महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले ‘भाषा, कला र संस्कृतिको उत्थान, बढाऔँ उद्योग, व्यापार र कृषि पर्यटन’ भन्ने नारासहित १० दिने कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

महोत्सवमा उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाका उद्यमी तथा व्यवसायीको सहभागिता रहनेछ । यसले आर्थिक तथा सामाजिक विकाससँगै कला, संस्कृति, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, वन र औद्योगिक क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, टेकु काठमाडौं र कोशी प्रदेश उद्योग वाणिज्य महासंघ महोत्सवका प्रवर्द्धकका रूपमा रहेका छन् । त्यस्तै, त्रियुगा नगरपालिका, जिल्ला समन्वय समिति उदयपुर तथा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्य रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा एग्रो थाईफुड प्रालि तथा सहप्रायोजकमा एशियन थाईफुड्स प्रालि र गोरखा ब्रुअरी प्रालि रहेका छन् । बैंकिङ साझेदारका रूपमा सिटिजन्स बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

आयोजकका अनुसार महोत्सवमा करिब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा १५० वटा व्यावसायिक स्टल रहनेछन् । विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि, सर्कस र बालबालिकाका लागि खेलहरू पनि सञ्चालन गरिनेछन् । साथै, प्रत्येक साँझ राष्ट्रियस्तरका चर्चित कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार बस्नेतले जानकारी दिनुभयाे ।

२०५८ सालमा स्थापना भएको त्रियुगा उद्योग वाणिज्य संघले २०६५ देखि २०७३ सालसम्म पूर्वाञ्चल क्षेत्रीय महोत्सव आयोजना गरेको थियो । संघले २०७४ साल फागुनमा पहिलो प्रदेशस्तरीय महोत्सव र २०८१ साल फागुनमा दोस्रो प्रदेश महोत्सव सम्पन्न गरिसकेको छ । यसैक्रममा २०८३ साल मंसिरमा तेस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

महोत्सवमा स्थानीय उत्पादन, मौलिक कला, संस्कृति, परम्परा तथा स्रोतसाधनको प्रदर्शन गरिनेछ । स्थानीय उत्पादनको बजारीकरण र व्यवसाय प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

‘समृद्ध त्रियुगा, सेवामुखी समाज’ भन्ने नारासहित महोत्सव अवधिभर विभिन्न सामाजिक गतिविधिसमेत सञ्चालन गरिने संघले जनाएको छ ।