जलवायुजन्य विपद् न्यूनीकरण गर्न क्षेत्रीय सहकार्यमा नेपालको जोड

48 Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका विपद्को जोखिम न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् ।

 थाइल्यान्डको बैंककमा संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) द्वारा आयोजित अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले हिमाली क्षेत्रमा हुने विपद्ले तल्लो तटीय क्षेत्रसम्म असर पार्न सक्ने भएकाले साझा पूर्वसूचना प्रणाली र वैज्ञानिक अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले लाङटाङ लिरुङ क्षेत्रमा हिमपहिरो तथा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विपद् र बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण जलविद्युत् आयोजनामा पुगेको क्षतिबारे सम्मेलनमा ध्यानाकर्षण गराए। उनले विपद्को कुल प्रभाव करिब २ अर्ब ७० करोड अमेरिकी डलर पुगेको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ४ अर्ब ८० करोड डलर आवश्यक पर्ने जानकारी दिए ।

नेपालले सन् २०२६ देखि २०३० सम्मको क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउन उपग्रहबाट प्राप्त तथ्याङ्क साझेदारी, हिमनदी तथा हिमतालको नियमित अनुगमन, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग विस्तार गर्न प्रस्ताव गरेको छ । साथै, नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता दोहो¥याउँदै जलवायु जोखिम न्यूनीकरण र स्वच्छ ऊर्जा विकासमा क्षेत्रीय सहकार्यका लागि आह्वान गरेको छ ।