आनीको नियुक्तिविरुद्ध आन्दोलन गर्ने अभियानका दुई अगुवा पक्राउ

55 Shares

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति खारेजीको माग गर्दै आएको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले खान र अभियानसँग सम्बन्धित वाविउद्दिन मुसलमानलाई गएराति बुटवलको लुम्बिनी पर्साचोकबाट नियन्त्रणमा लिएको हो । अभियानका सहसंयोजक रामविकास चौधरीले दुवै जनालाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको बताएका छन् । पक्राउको विरोध गर्दै अभियानले उनीहरूलाई निःशर्त रिहा गर्न माग गरेको छ ।

अभियानले आफ्ना माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले धरपकड गरेको आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरूलाई अनुसन्धानका लागि भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

आनीको नियुक्ति बदर गरी स्थानीय योग्य व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने मागसहित महाअभियानले चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोमबार दिउँसो आन्दोलनकारीले संस्कृति तथा पर्यटनमन्त्री गनेश पौडेलको पुत्लासमेत जलाएका थिए । आनीको नियुक्ति प्रक्रिया र योग्यताबारे विभिन्न समूहले प्रश्न उठाउँदै छानबिनको मागसमेत गरेका छन् ।