मिथिलाको सांस्कृतिक धरोहर झिझियाः तान्त्रिक परम्परा र आधुनिक चुनौतीबीचको अस्तित्व

14 Shares

काठमाडाैं । दशैँको आगमनसँगै मिथिलाञ्चलका गाउँबस्तीमा टाउकामा दियोसहितको घैँटो बोकेर नाचिने ‘झिझिया’ नृत्यले सांस्कृतिक र तान्त्रिक महत्वका साथ पुनः चर्चा पाएको छ । 

घटस्थापनादेखि विजयादशमीसम्म देवीको स्तुतिमा गरिने यो नृत्य मिथिलाको मौलिक पहिचानको अभिन्न अङ्ग हो । झिझिया केवल मनोरञ्जनको साधन नभई तान्त्रिक विधि र दार्शनिक मान्यतासँग जोडिएको एक विशिष्ट अनुष्ठान हो ।

असंख्य प्वाल पारिएको माटोको घैँटोमा प्रज्वलित दियो राखेर गरिने यो नृत्यलाई मानव शरीर र चेतनाको प्रतीक मानिन्छ । परम्परागत गीत, लय र तालमा घैँटोलाई सन्तुलन मिलाउँदै गरिने नृत्यले मिथिलाञ्चलको गहिरो सांस्कृतिक जरोलाई प्रतिनिधित्व गर्दछ ।  यद्यपि यो परम्पराको संरक्षणमाथि प्रश्नचिह्न खडा हुन थालेको छ ।

ज्योतिष एवं पण्डित डा. विवेक पाण्डेकाअनुसार झिझियाको आफ्नै सुर र ताल छ जसले गाउँघरमा विशिष्ट सांस्कृतिक वातावरण निर्माण गर्छ । तर आधुनिक समयमा यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । कतिपयले यसलाई अन्धविश्वासका रूपमा टिप्पणी गर्दा यसको दार्शनिक र सांस्कृतिक पक्ष छायामा परेको संस्कृतिविद्हरूको चिन्ता छ ।

 इतिहासकाअनुसार छैटौँदेखि एघारौँ शताब्दीको बीचमा तान्त्रिक शक्तिको प्रभाव विस्तार भएसँगै यो नृत्यको शुरुवात भएको जनविश्वास छ । यद्यपि यसको उत्पत्ति र ऐतिहासिक विकासक्रमबारे थप वैज्ञानिक अध्ययन र अनुसन्धानको आवश्यकता टड्कारो छ ।

युवा पुस्तामाझ बढ्दो उदासीनताले गर्दा मिथिलाको यो विशिष्ट लोककला लोप हुने जोखिममा छ । झिझियालाई केवल परम्परागत अनुष्ठानका रूपमा मात्र नहेरी, यसको दार्शनिक सन्देशलाई व्यापक बनाउनसके मात्र यस्ता मौलिक संस्कृतिको जगेर्ना सम्भव देखिन्छ ।