भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेस

10 Shares

काठमाडाैं । गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेश गरिएको छ ।

प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिएको प्रतिवेदन बिहीबार मुख्यमन्त्री थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनअनुसार भौतिक संरचना, कृषि, शिक्षा, उद्योग तथा व्यवसाय र खानेपानी तथा सिँचाइ गरी पाँच क्षेत्रमा मात्रै १३ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सडक, पुल तथा सरकारी भवनमा ५ अर्ब ६९ करोड ७ लाख रुपैयाँ, विद्यालयमा ४ अर्ब ९८ करोड १२ लाख रुपैयाँ, उद्योग तथा व्यापारिक पसलमा २ अर्ब ९७ करोड १२ लाख रुपैयाँ, खानेपानी तथा सिँचाइमा ५२ करोड ७९ लाख रुपैयाँ तथा बाली, पशुधन र फार्ममा २८ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ भने चितवनका तटीय क्षेत्रमा समेत प्रभाव परेको जनाइएको छ ।

प्रतिवेदनअनुसार बाढीपहिरोमा परी १ हजार ४ सय ५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । बाढीबाट प्रभावित १३ हजार ७ सय ९५ जनाको उद्धार गरिएको छ भने ३ सय ४४ जना घाइतेले विभिन्न अस्पतालबाट उपचार सेवा लिएका छन् ।

बाढीबाट २ हजार ३ सय निजी आवास पूर्ण रूपमा बगेका वा क्षतिग्रस्त भएका छन् भने २ सय ६९ घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २ हजार ३ सय परिवार प्रत्यक्ष रूपमा विस्थापित भएका छन् ।

पूर्वाधारतर्फ ३४ वटा मोटरेबल पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् । ५१ वटा झोलुङ्गे पुल र ३ दशमलव ५ किलोमिटर कालोपत्रे सडकमा क्षति पुगेको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रबाहेक १४ वटा सरकारी कार्यालय भवनसमेत क्षतिग्रस्त भएका छन् ।

शिक्षातर्फ १२ वटा विद्यालय पूर्ण रूपमा र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । ३५ वटा विद्यालय भवन तथा ३ सय १७ वटा कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९ हजार २ सय ४८ विद्यार्थीको पठनपाठन २१ दिनसम्म प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्यतर्फ ६ वटा स्वास्थ्य केन्द्र, ७ वटा निजी स्वास्थ्य संस्था तथा औषधि पसल र २ वटा स्वास्थ्य शाखा तथा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ४ वटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ । खानेपानीतर्फ ५५ वटा आयोजना तथा इन्टेकमा क्षति पुग्दा ९ सय ६५ घरधुरी प्रभावित भएका छन् । त्यस्तै, ४४ वटा सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५ सय ९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ ।

कृषितर्फ ९ सय ७३ हेक्टर कृषि भूमि प्रभावित भएको छ भने ४ सय ७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको छ । बाढीमा ७ सय २ वटा ठूला पशु, २ हजार १ सय २३ वटा साना पशु तथा १ लाख ३४ हजार कुखुरा तथा अन्य पन्छी मरेका छन् ।

उद्योग तथा व्यापारतर्फ ३ सय वटा घरेलु तथा साना उद्योग पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती उद्योगमा २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ । ६७ वटा व्यापारिक पसल तथा प्रतिष्ठानमा क्षति पुगेको छ भने ३० वटा गोदाम बगेका छन् । बाढीका कारण करिब १ हजार ७ सय श्रमिकको रोजगारी प्रभावित भएको छ ।

विपद्बाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । बाढीपहिरोमा परी १ सय २ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका छन् । विभिन्न होल्डिङ सेन्टरमा २ सय ४६ बालबालिका र १ सय ६९ ज्येष्ठ नागरिक आश्रित छन् ।

३८ वटा होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श सेवाको आवश्यकता रहेको प्रतिवेदनले औँल्याएको छ ।

खोज तथा उद्धारका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक गरी २० हजार ४ सय ७७ जना परिचालन गरिएको थियो । प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन प्रदेश सरकारले नुवाकोटमा ५ वटा तुइन र २ वटा जिपलाइन तथा रसुवामा तुइन सञ्चालनमा ल्याइएको सचिव भट्टराईले जानकारी दिएका छन् ।

प्रतिवेदनमा पूर्ण मूल्याङ्कन सम्पन्न भएपछि मात्रै बाढीबाट भएको समग्र क्षतिको अन्तिम विवरण यकिन हुने उल्लेख गरिएको छ ।