काठमाडौं । सोलुखुम्बुको प्रमुख पर्यटकीय क्षेत्र खुम्बुमा समुद्री सतहबाट ४ हजार ६२० मिटरको उचाइमा २०६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–४ थुक्लामा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएसँगै सगरमाथा क्षेत्रको पदयात्रा थप सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अनुसार थुक्लामा निर्माण गरिएको यो पुल विश्वकै उच्च स्थानमा रहेको सबैभन्दा लामो झोलुङ्गे पुल हो। पुल निर्माण सम्पन्न भएपछि सगरमाथा आधार शिविरतर्फ जाने पर्यटक तथा स्थानीयवासीलाई थुक्ला खोला पार गर्न सहज भएको छ।
पुलको उद्घाटन गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पुल सञ्चालनमा आएसँगै खुम्बुको पर्यटन उद्योग थप सहज र व्यवस्थित हुने बताउनुभयो। सगरमाथा क्षेत्रको पर्यटनका लागि पदमार्गसँगै आवश्यक पूर्वाधार निर्माणले पर्यटकको आवागमनमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ।
सगरमाथा आधार शिविर जाने प्रमुख पदमार्गमा पर्ने थुक्लामा निर्माण गरिएको पुलका लागि गाउँपालिकाले ५ करोड ५ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ। उच्च हिमाली क्षेत्रमा निर्माण गरिएको पुलले पर्यटक तथा स्थानीयको सुरक्षित आवतजावतमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार, पुल निर्माण हुनुअघि थुक्ला खोला पार गर्न यात्रुले जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो। खोला पार गर्न करिब ३० मिनेटसम्म जोखिमपूर्ण बाटो हुँदै हिँड्नुपर्ने बाध्यता रहेको थियो।
विशेषगरी पर्यटकीय मौसममा सगरमाथा आधार शिविरतर्फ जाने विदेशी तथा स्वदेशी पर्यटकको चाप बढ्ने भएकाले खोला पार गर्ने क्रममा थप जोखिम हुने गरेको थियो। नयाँ पुल निर्माण भएपछि उक्त जोखिमपूर्ण यात्राको अन्त्य भएको गाउँपालिकाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा निर्माण गरिएको २०६ मिटर लामो पुलले स्थानीय बासिन्दाको दैनिक आवतजावतलाई समेत सहज बनाएको छ। पुल सञ्चालनमा आएसँगै सामान ढुवानी, स्थानीय आवागमन तथा पर्यटकको पदयात्रामा समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ।
सगरमाथा क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विश्वभर परिचित रहेकाले यस क्षेत्रमा सुरक्षित र भरपर्दा पूर्वाधार निर्माणलाई महत्वपूर्ण मानिन्छ। थुक्लामा निर्माण भएको यो पुलले सगरमाथा आधार शिविर जाने पदमार्गको पूर्वाधार थप मजबुत बनाउनुका साथै खुम्बुको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यससँगै उच्च हिमाली क्षेत्रमा पर्यटक तथा स्थानीयको सुरक्षित आवतजावतका लागि आवश्यक अन्य पूर्वाधार निर्माणलाई समेत निरन्तरता दिनुपर्ने स्थानीयको अपेक्षा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया