काठमाडौं । नवलपरासी प्रहरीले भन्सार छली ल्याएर घरमै गोदाम गरी राखिएका करिब ११ लाख ६८ हजार रुपैयाँ बराबरका विभिन्न कपडा बरामद गरेको छ।
प्रहरीका अनुसार सुस्ता गाउँपालिका–१ रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखिएका कपडा बरामद गरिएको हो। भन्सार छली गरी ल्याइएका कपडा घरमै लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको घरमा खोजतलास गर्दा विभिन्न प्रकारका कपडा फेला पारी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार बरामद गरिएका कपडाको बजार मूल्य करिब ११ लाख ६८ हजार रुपैयाँ रहेको छ।
प्रहरीले बरामद गरेका सामानमा साडी, कुर्था सुरुवाल, लेडिज टिसर्ट, पुरुष सेरवानी कुर्था, लुङ्गी तथा विभिन्न प्रकारका सुतीका कपडा रहेका छन्।
प्रहरीका अनुसार ती कपडाहरूको स्रोत तथा भन्सारसम्बन्धी आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन महेशपुर भन्सार कार्यालय पठाइएको छ।
भन्सार छली गरी ल्याइएका सामानको अवैध ओसारपसार तथा भण्डारण नियन्त्रणका लागि प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै आएको जनाएको छ। बरामद भएको कपडासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भन्सार कार्यालयबाट हुने प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया