काठमाडौं । पशुपतिनाथ मन्दिरको गैरहिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ की प्रियंका परियार र इटहरी–८ का असिम अन्सारीलाई पक्राउ गरेको हो ।
दुवै जनालाई मंगलबार बेलुकी इटहरी–९ स्थित रंगशाला चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई बुधबार बिहान १०ः३० बजेको हवाई उडानमार्फत थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।
दुई दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको भिडिओ सार्वजनिक भएको थियो ।
पशुपतिनाथ मन्दिरमा हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेशको अनुमति रहेको नियमविपरीत जोडी भित्री भागसम्म पुगेको देखिएपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भएको थियो ।
विवाद बढेपछि सामाजिक सञ्जालमा अर्को भिडिओ सार्वजनिक गर्दै प्रियंका र असिमले आफूहरूको कुनै खराब नियत नभएको दाबी गरेका छन् । भिडिओमा बोल्दै प्रियंकाले पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा गार्डहरूको यस घटनामा कुनै गल्ती नरहेको बताएकी छन् ।
आफूहरू गेटबाट भित्र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले देखेर तत्कालै फिर्ता पठाएको उनले बताएकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया