काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको छ ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उहाँले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी गर्नुभएको हो । उहाँले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताउनुभयो ।
उहाँले आफूले नै केन्द्रिय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर काँग्रेसलाई जनतामाझ लैजानुपर्ने प्रश्ताव राखेको उहाँले स्मरण गर्नुभयो । मन्सुरले १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगन थापालाई काँग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्नुभयो ।
सभापति थापाले अघि सारेका एजेण्डालाई कार्यान्वयन गर्दै काँग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘२३–२४ भदौपछि एउटा जुन जनताको बीचमा र नेपाली काँग्रेसको बीचमा निराशाको अवस्था थियो, आक्रोश थियो, त्यो बेला नेपाली काँग्रेसले नयाँ नीति, नयाँ नेता लिएर जानुपर्छ जनताको बीचमा र गगन थापालाई प्रधानमन्त्रीको र सभापतिको फेस बनाएर जानुपर्छ भने केन्द्रीय कार्यसमितिमा मैले यो कुरा राख्दाखेरि देशभरिका नेपाली कांग्रेसका साथीहरूको मनमा त्यो कुरा थियो र एउटा विचार देशभित्र र देशबाहिर पनि कांग्रेसका साथीहरूले एउटा व्यापक यो भावना अगाडि बढ्दै गएर विशेष महाधिवेशनबाट काँग्रेस रूपान्तरित भयो, कांग्रेसबाट नयाँ विचारको स्थापना भयो । त्यसको अभियन्ताको रूपमा पनि म यहाँ तपाईंहरूको बीचमा उपस्थित भएको छु । यी कांग्रेस पार्टी र मेरो जीवन नै कांग्रेस पार्टीमा समर्पित भएको पार्टी हो र मैले राजनीतिमा लाग्दाखेरि अहिलेसम्म काँग्रेसको प्रति इमान्दारीपूर्वक लागेको छु । अहिले कांग्रेसले जुन किसिमको रूपान्तरण खोजेको छ, नेपाली जनताका बीचमा १५औँ महाधिवेशनबाट ल्याइएका कार्यक्रम र नीतिलाई कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहनेछ ।’
पार्टीले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा आफूले योगदान गर्न आफूले १५ औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया