काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ। नयाँ नामावली सार्वजनिक भएसँगै कांग्रेसको केन्द्रीय कार्यसमिति निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको सङ्ख्या ७ हजार ११४ पुगेको छ।
कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिएका हुन्। निर्वाचन प्रक्रियालाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी भइरहेको उनले बताए।
मतदाता नामावली प्रकाशनसँगै निर्वाचन समितिले दाबी–विरोध र जाँचबुझको प्रक्रिया पनि अघि बढाएको छ। सदस्यसचिव कटुवालका अनुसार बिहान ९ः३० बजे मतदाता नामावली प्रकाशनउपर दाबी–विरोधका लागि समय निर्धारण गरिएको छ।
त्यसपछि बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म प्राप्त दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ। जाँचबुझपछि बिहान ११ः३० बजे मतदाताको अन्तिम नामावली पुनः प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
आजै उम्मेदवारी दर्ता
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजै उम्मेदवार मनोनयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ। निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता फारम वितरण गरिनेछ भने दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन भएसँगै निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या टुंगो लागेको छ। अब उम्मेदवार मनोनयन दर्ता, दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवार नामावली प्रकाशनलगायत प्रक्रिया अघि बढ्नेछ।
२९७ सदस्यीय केन्द्रीय कार्यसमिति
कांग्रेसको सोमबार सम्पन्न बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ। संशोधित विधानअनुसार अब नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरिएको छ।
संशोधित विधानअनुसार नै १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यसमितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो।
महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदका साथै केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ। नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।
महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको सहजताका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आवश्यक सहयोग तथा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको हो।
उनका अनुसार बन्दसत्र हुने स्थान तथा निर्वाचन हुने स्थानमा स्वयंसेवक खटाइएको छ। प्रतिनिधिहरूको आवतजावत, कार्यक्रमस्थलको व्यवस्थापन तथा आवश्यक समन्वयमा स्वयंसेवकले सहयोग गर्नेछन्।
देश–विदेशबाट प्रतिनिधि काठमाडौंमा
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि देश तथा विदेशबाट करिब ७ हजार ५०० प्रतिनिधि काठमाडौं आइपुगेका छन्। तीमध्ये निर्वाचनमा भाग लिने प्रतिनिधिको अन्तिम सङ्ख्या भने ७ हजार ११४ कायम भएको निर्वाचन समितिले जनाएको छ।
आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा अहिले बन्दसत्र चलिरहेको छ। कार्यतालिकाअनुसार आज र भोलि बन्दसत्रका कार्यक्रम सञ्चालन हुने तथा असोज २१ र २२ गते निर्वाचन गर्ने तयारी गरिएको छ।
बन्दसत्रमा पार्टीका विभिन्न पदाधिकारीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन्। पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्। प्रस्तुत प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूबीच छलफल तथा आवश्यक प्रक्रिया अघि बढिरहेको छ।
अब महाधिवेशनको मुख्य ध्यान नयाँ नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। मतदाता नामावलीको अन्तिम टुंगो लागिसकेकाले उम्मेदवारी दर्तासँगै कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा थप निर्णायक चरणमा प्रवेश गर्नेछ।
निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता र त्यसपछिका प्रक्रियाहरू सम्पन्न भएपछि असोज २१ र २२ गते हुने निर्वाचनबाट कांग्रेसको नयाँ २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया