काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिने जानकारी दिए ।
कांग्रेसले बन्दसत्र अगाडि आज बिहान १०ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।
बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ । यस्तै, कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुका ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार आज बेलुका ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तै, भोलि ९असोज २०० गते विहान १०ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
यसैगरी, असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया