बागलुङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी–प्यूठान सडकखण्डमा सडक स्तरोन्नतिको काम भइरहेका बेला अचानक माथिबाट माटोको ठूलो ढिस्को खसेको थियो। ढिस्को खस्दा सडक निर्माणमा खटिएका तीन जना मजदुर त्यसमा पुरिएका थिए।
घटनामा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिएका छन्।
माटोको ढिस्कोमा पुरिएका मजदुरहरूको तत्काल उद्धार प्रयास गरिएको थियो। उद्धारका क्रममा बुढाथोकी र थापालाई घटनास्थलबाट निकालिए पनि उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, ढिस्कोमा पुरिएका रोल्पाका कृष्ण घर्ती मगरलाई भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। उनको प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार सडक स्तरोन्नतिको कामका क्रममा लु१क ३४४६ नम्बरको जेसिबी प्रयोग भइरहेको थियो। चालक भद्र मल्लले जेसिबी चलाएर सडकको बाटो फराकिलो तथा स्तरोन्नति गर्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेको हो।
ढिस्को खस्दा नजिकै काम गरिरहेका मजदुरहरू त्यसमा पुरिएका थिए। घटना लगत्तै स्थानीयवासी, निर्माणमा संलग्न व्यक्तिहरू तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो।
दुर्घटनाका कारण निर्माणस्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। उद्धार गरिएका घाइते मजदुरको अवस्था गम्भीर रहेको बताइएको छ।
सडक निर्माणका क्रममा यस प्रकारका दुर्घटना दोहोरिँदै जान थालेपछि निर्माणस्थलमा अपनाइने सुरक्षा मापदण्ड र मजदुरको सुरक्षाको विषय पुनः चर्चामा आएको छ। विशेषगरी भिरालो भूभाग तथा कमजोर माटो भएको क्षेत्रमा सडक काट्ने र स्तरोन्नति गर्ने क्रममा माथिबाट माटो तथा ढुंगा खस्ने जोखिम उच्च हुने गर्दछ।
निर्माणस्थलमा कामदारको सुरक्षाका लागि आवश्यक सावधानी, जोखिमयुक्त क्षेत्रमा सुरक्षित दूरी कायम गर्ने व्यवस्था तथा सम्भावित पहिरो र ढिस्को खस्ने अवस्थाको पूर्वमूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखिएको छ।
बागलुङको निसीखोला क्षेत्रमा ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेका बेला भएको यो दुर्घटनाले सडक निर्माणमा संलग्न मजदुरहरूको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटना कसरी भयो, निर्माणस्थलमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएको थियो कि थिएन तथा घटनाको अन्य कारणबारे समेत अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया