कांग्रेस केन्द्रीय सदस्यमा धना खतिवडाको उम्मेदवारी घोषणा

8 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धना खतिवडाले महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

लामो समयदेखि पार्टी संगठनमा सक्रिय खतिवडाले विगतको राजनीतिक तथा सांगठनिक अनुभवलाई आधार बनाउँदै नयाँ सोच र दृष्टिकोणसहित केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी अघि सारेकी हुन्।

खतिवडाले यसअघि कांग्रेसको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्। उनले केन्द्रीय अनुशासन समितिको सदस्य भएर पनि काम गरेकी छन्। हाल पनि उनी अनुशासन समितिमा सदस्यका रूपमा सक्रिय रहेको बताइएको छ।

पार्टी संगठन, अनुशासन र आन्तरिक व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभवलाई आगामी कार्यकालमा थप प्रभावकारी रूपमा उपयोग गर्ने खतिवडाको भनाइ छ। उनले आगामी जिम्मेवारीलाई विगतको निरन्तरताभन्दा पनि पार्टीमा नयाँ कार्यदिशा अघि बढाउने अवसरका रूपमा लिएको बताएकी छन्।

बदलिँदो राजनीतिक परिवेश र युवा पुस्ताको अपेक्षालाई ध्यानमा राख्दै कांग्रेसको संगठनलाई थप सक्रिय बनाउने, जनविश्वास बलियो पार्ने तथा नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ।

‘यसपटक नयाँ भिजन र मिसनका साथ काम गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेकी हुँ,’ खतिवडाले भनेकी छन्।

महिला सहभागिता विस्तार, संगठन सुदृढीकरण तथा पार्टीलाई थप व्यवस्थित र जवाफदेही बनाउने विषयलाई पनि उनले आफ्नो उम्मेदवारीको प्राथमिकताका रूपमा अघि सारेकी छन्। १५औँ महाधिवेशनमा महिला खुलातर्फ केन्द्रीय सदस्य पदका लागि खतिवडासहित विभिन्न नेतृहरूले उम्मेदवारी अघि सारेका छन्।