काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज फिजीको नादीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुनुहुने भएको छ। कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ।
कार्यक्रमअन्तर्गत हुने नेताहरूको पूर्ण सत्रलाई मन्त्री खनालले सम्बोधन गर्नुहुनेछ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको प्रभाव, जलवायु न्याय तथा हिमाली मुलुकका प्राथमिकता र सरोकारका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने कार्यक्रम छ।
फिजी र टुभालुमा आयोजना हुने कार्यक्रम सकेपछि मन्त्री खनाल अस्ट्रेलिया भ्रमणमा जानुहुनेछ। अस्ट्रेलिया भ्रमणका क्रममा उहाँले त्यहाँकी विदेशमन्त्री पेनी वङसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहयोग तथा पारस्परिक हितका विषयमा छलफल हुने बताइएको छ।
मन्त्री खनालले क्यानबेरा र सिड्नीमा नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउनुहुनेछ। उहाँ अक्टोबर १२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया