सीपको उपयोगमार्फत स्वरोजगार बन्दै बकैयाका स्थानीयवासी

10 Shares

बागमती । मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आएका छन् । यसअघि काठमाडौँमा गलैँचा बुन्ने सीप सिकेकी वाइबा अहिले भने घरमा नै गलैँचा बुनेर बजारमा पठाउने गर्छन् ।

घरमा फुर्सद हुनासाथ गलैँचा बुन्दै आएकी उनले गलैँचा बुन्नुका साथै घरमा मासु पसलसमेत सञ्चालन गर्दै आएकी छन् । गलैँचा बनाउन सकिएमा बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उल्लेख गर्दै उनले आफूले निर्माण गरेको गलैँचा काठमाडौँमा राम्रो माग हुने गरेको बताइन् ।

घरका अन्य कामसमेत गर्दै करिब २०/२२ दिनमा एउटा गलैँचा तयार गर्ने गरेको बताउँदै उनले यसले आफूलाई स्वरोजगार बनाएको बताउँछिन् । गलैँचाका लागि आवश्यकपर्ने धागो काठमाडौँबाट नै मगाउने गरेको उनको भनाइ छ ।

उनीजस्तै अर्का स्थानीय जितबहादुर वाइबाले पनि गाउँमा नै गलैँचा बुन्ने गर्छिन् । उनका अनुसार एउटा गलैँचाको समान्यतः १०/११ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । “तानमा बुनेर तयार गरिने गलैँचाको बजारमा माग राम्रो छ”, उनले भनिन्, “गलैँचा तयार गर्नसकेमा बिक्रीका लागि बजारमा कुनै समस्या छैन ।”

गाउँका स्थानीयले स्वरोजगार बन्ने लक्ष्यका साथ कसैले बाख्रापालन त कसैले कुखुरापालन आदि गरिरहेको उनले बताइन् । स्थानीयवासीका अनुसार गाउँमा उत्पादित जुनसुकै बस्तुको बजारमा माग बढ्दो रहेको छ ।

तामाङ जातिको बाहुल्यता रहेको पालिकामा ठाउँठाउँमा स्थानीयवासीहरू गलैँचा बुन्ने पेसालाई आफ्नो आयआर्जनको विकल्पका रुपमा अघि बढाउने गरेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताए ।

“यहाँका धेरै गाउँमा घरको नियमित कामसँगै समय छुट्याएर गलैँचा बुन्नेक्रम पनि चलिरहेको छ”, उनले भने, “गलैँचा बुन्ने व्यवसाय स्थानीयका लागि अतिरिक्त आय आर्जन गर्ने तथा स्वरोजगार बन्ने उपयुक्त विकल्प बनेको छ ।”

गाउँपालिकाभित्र स्थानीयले व्यावसायिक कृषि, पशुपालन आदि गरिहेको उल्लेख गर्दै उनले पछिल्ला समयमा अधिकांश स्थानमा विभिन्न ज्ञान सीपको उपयोग गर्दै स्वरोजगार बन्नेक्रम बढ्दो रहेको बताए ।