काठमाडौं । दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना विक्री केन्द्रबाट दैनिक उपभोग्य वस्तुमा छुटसहित बिक्री गरिरहेको छ ।
सरकारी निर्देशनअनुसार केही वस्तुमा छुट दिइएको छ भने अन्य वस्तुमा कर्पोरेसन आफैंले मूल्य घटाएर विक्री गरिरहेको हो । साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाकाअनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ ।
छुटपछि चिनी प्रतिकिलो १०० रुपैयाँमा विक्री भइरहेको छ भने दाल, तेल, चिउरा र मैदामा नेपाल सरकारको निर्देशनअनुसार प्रतिकिलो ७ रुपैयाँ छुट दिएर बिक्री भइरहेको झाले जानकारी दिए ।
उनकाअनुसार सरकारले छुट तोकेका वस्तुका अतिरिक्त कर्पोरेसनले आफ्ना आउटलेटबाट विक्री हुने अन्य वस्तुमा समेत विगतको भन्दा कम मूल्य कायम गरेको छ ।
चामलमा प्रतिबोरासम्म ५० रुपैयाँ छुट दिइएको छ भने गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट छ । कर्पोरेसनले बिक्री गर्ने मसला, बिस्कुटलगायत अन्य वस्तुमा पनि उपलब्ध छुटअनुसार मूल्य घटाएर विक्री गरिरहेको बताउँदै उनले नेसनल ब्रान्डका बिस्कुटमा उत्पादकबाटै उपलब्ध गराइएको छुटअनुसार उपभोक्तालाई बिक्री गरिएको जानकारी दिए ।
साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत झाले भने, ‘अहिलेको दशैं बजारमा विगतमा जस्तै चाडपर्वलाई लक्षित गरी विक्री हुने वस्तुहरूमा छुट दिएर विक्री गरिरहेका छौं । केही वस्तुमा नेपाल सरकारले नै छुट दिन निर्देशन दिएको छ। उदाहरणका लागि, नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिएका छौं । चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर काठमाडौं उपत्यकामा प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री गरिरहेका छौं । त्यसैगरी दाल, तेल, चिउरा र मैदामा नेपाल सरकारको निर्देशनअनुसार प्रतिकिलो ७ रुपैयाँका दरले छुट दिएर बिक्री गरिरहेका छौं । यसका अतिरिक्त कर्पोरेसनका आफ्नै आउटलेटबाट विक्री हुने अन्य वस्तुमा पनि केही न केही छुट दिएर विगतको भन्दा कम मूल्यमा बिक्री गरिरहेका छौं । उदाहरणका लागि, चामलमा प्रतिबोरासम्म ५० रुपैयाँ छुट दिएका छौं भने गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँसम्म छुट दिएर बिक्री गरिरहेका छौं । हामीले बिक्री गर्ने मसला तथा अन्य वस्तुमा पनि छुट उपलब्ध गराएका छौं । त्यस्तै, नेसनलका बिस्कुट उत्पादनमा उत्पादकबाटै छुट प्राप्त भएकाले त्यही छुटअनुसारको मूल्यमा बिक्री गरिरहेका छौं । हामी कहाँबाट बिक्री हुने सबै वस्तुमा सरकारले दिएको छुटअनुसार छुट दिएका छौं भने सरकारले छुट नतोकेका वस्तुमा कर्पोरेसनको तर्फबाट पनि केही न केही छुट दिएर बिक्री गरिरहेका छौं । ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं । बिक्री कक्षहरूमा ग्राहकको भीड हेर्न सकिन्छ ।’
कर्पोरेसनले दशैंलगायत चाडपर्वमा उपभोक्तालाई सहज र सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले छुटसहितको बिक्रीलाई निरन्तरता दिएको उनको भनाइ छ । सार्वजनिक–निजी साझेदारी मोडलको संस्था साल्ट टेडिङले सुपथ मूल्य हरेक वर्ष संचालन गर्दै आइरहेको छ । देशका सयभन्दा बढी स्थानबाट सेवा दिँदै आएको झाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया