इटहरी । इटहरीमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्न खोजिएको आरोपमा २१ किलो मासु बरामद गरिएको छ।
इटहरी–१७ पकलीबाट ल्याइएको उक्त मासु बसपार्क मोडस्थित इटहरी मिट सेन्टरमार्फत सोल्टी होटलमा पठाउन लागिएको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो।
मासुसँगै होटल गरिमा लिमिटेड (सोल्टी होटल)को नाममा काटिएको बिलसमेत फेला परेको नगर प्रहरीले जनाएको छ। बिलमा प्रतिकिलो १ हजार २५० रुपैयाँका दरले २१ किलो खसीको मासु उल्लेख गरिएको छ।
प्रहरीका अनुसार ९१०३ नम्बरको मोटरसाइकलमा ल्याइएको मासु सिटी सफारीमार्फत सोल्टी होटलतर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको थियो। नेपाल प्रहरीले मासु नियन्त्रणमा लिएको केही समयपछि इटहरी उपमहानगरपालिकाको नगर प्रहरी टोली घटनास्थल पुगेको थियो।
इटहरीका नगर प्रहरी प्रमुख जेबी राईका अनुसार पसल सञ्चालकलाई अबदेखि यस्तो कार्य नगर्ने शर्तमा कागज गराएर छाडिएको छ। उनका अनुसार बाख्राको मासु बिक्री गर्न प्रतिबन्ध नभए पनि त्यसलाई खसीको मासु भन्दै बिक्री गर्न भने पाइँदैन।
राईका अनुसार इटहरी–१७ पकलीका इटहरी मिट सेन्टर सञ्चालक अब्दुल खानले अबदेखि यस्तो कार्य नगर्ने भन्दै आग्रह गरेपछि कागज गराएर छाडिएको हो।
यता, सोल्टी होटल व्यवस्थापनले भने आफूहरूलाई बाख्राको मासु खसीको मासु भन्दै पठाइएको विषयमा जानकारी नभएको दाबी गरेको छ।
घटनामा उपभोक्तालाई गलत विवरण दिएर मासु बिक्री गर्न खोजिएको आरोप भए पनि पसल सञ्चालकलाई कागज गराएर छाडिएको विषयमा बजार अनुगमन र कारबाहीको प्रभावकारितामाथि प्रश्न उठेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया