अविरल वर्षापछि हुम्लाको सडक सञ्जाल प्रभावित, ७० भन्दा बढी स्थानमा पहिरो

38 Shares

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो तथा ठाउँ–ठाउँमा ढुङ्गा खस्दा हुम्लाको मुख्य तथा ग्रामीण सडक सञ्जालमा ठूलो क्षति पुगेको छ। सडकमा पहिरो खस्नुका साथै बाढीले कल्भर्टलगायतका संरचना बगाएपछि चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिकाका ग्रामीण सडक प्रभावित भएका छन्।

सडक अवरुद्ध भएपछि जिल्लाका विभिन्न गाउँबस्तीबीचको यातायात सम्पर्क प्रभावित भएको छ। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको आवतजावत, विद्यार्थीको विद्यालय जाने–आउनेदेखि अत्यावश्यक सेवासमेत प्रभावित भएको स्थानीयले बताएका छन्।

कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरो

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार निरन्तरको वर्षापछि जिल्लाका विभिन्न सडकखण्डमा पहिरो खस्नुका साथै ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएका छन्। बाढीका कारण सडकमा रहेका कल्भर्टलगायतका संरचनासमेत क्षतिग्रस्त भएका छन्।

सदरमुकाम सिमकोटमा विद्युत् अवरोध भएकाले जिल्लाभर भएको क्षतिको पूर्ण विवरण सङ्कलन गर्नसमेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरो खसेको र कतिपय ठाउँमा ठूला ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।

प्रहरीका अनुसार पहिरो तथा ढुङ्गा पन्छाएर कवाडी–गिउसी सडकखण्ड सञ्चालनमा ल्याइएको छ। माथिल्लो सडकखण्डमा पनि निरन्तर काम गर्न सके बुधबारसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

सातवटै गाउँपालिकाका ग्रामीण सडक प्रभावित

वर्षाका कारण हुम्लाका सातवटै गाउँपालिकाका वडा केन्द्र तथा गाउँबस्ती जोड्ने ग्रामीण सडकमा समेत क्षति पुगेको छ। सडकमा पहिरो खस्नुका साथै कतिपय ठाउँमा सडकको संरचना नै बगाएका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।

ताँजाकोट गाउँपालिकाको केन्द्र जाने सडकका विभिन्न स्थानमा क्षति पुगेको छ। सडक अवरुद्ध हुँदा गाउँपालिकाको केन्द्रसँग स्थानीय बस्तीको यातायात सम्पर्क प्रभावित भएको छ।

त्यस्तै अदानचुली गाउँपालिका केन्द्रदेखि वडा नं. ५ र ६ जाने सडकसमेत अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको वडा नं. ५ का वडा सदस्य सिंह बोहोराले बताए।

सडक सञ्चालनमा नआउँदा स्थानीयवासीलाई पैदल हिँड्नुपर्ने अवस्था आएको छ भने अत्यावश्यक कामका लागि समेत लामो दूरी पार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

७० भन्दा बढी स्थानमा पहिरो

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार जिल्लाका ग्रामीण सडकमा मात्रै ७० भन्दा बढी स्थानमा पहिरो खसेको छ।

उनका अनुसार अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन जिल्लाका सबै गाउँपालिकासँग समन्वय भइरहेको छ। सडकमा खसेको पहिरो तथा ढुङ्गा पन्छाउने र क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ।

अवरुद्ध सडक खुलाउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए। कमान्ड पोस्टमार्फत सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सडक सञ्चालनको प्रयास भइरहेको छ।

सडक अवरोधका कारण कांग्रेस अधिवेशनसमेत प्रभावित

लगातारको वर्षाका कारण सडक यातायात प्रभावित हुँदा जिल्लाका राजनीतिक तथा सामाजिक गतिविधिसमेत प्रभावित भएका छन्।

सडक अवरुद्ध भएपछि असोज १० गतेका लागि तय गरिएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन तीन दिनपछि असोज १३ गते मात्र सम्पन्न भएको थियो।

अधिवेशनमा सहभागी हुन हुम्लाको तल्लो क्षेत्रबाट सिमकोट पुगेका प्रतिनिधिहरूलाई सडक अवरोधका कारण लामो समय लाग्यो। अदानचुली गाउँपालिका–१ का उब्जन थापाका अनुसार ठाउँ–ठाउँमा पहिरो र ठूला ढुङ्गा खसेर सवारीसाधन रोकिँदा प्रतिनिधिहरूले कतिपय स्थानमा पैदल यात्रा गर्नुपरेको थियो।

उनका अनुसार सामान्य अवस्थामा छोटो समयमा पार गर्न सकिने सडकखण्डमा समेत पहिरो र ढुङ्गाका कारण यात्रा कठिन बनेको थियो।

उत्तरी हुम्लाका सडकमा हिउँको अवरोध

वर्षासँगै उत्तरी हुम्लाका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। नाम्खा गाउँपालिका–५ स्थित नारा लेक तथा वडा नं. ६ को लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिट हिउँ जमेको प्रहरीले जनाएको छ।

हिउँ बाक्लो रूपमा जमेकाले ती सडकखण्डसमेत बन्द भएका छन्। हिउँ नपन्छाएसम्म सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ।

उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पहिरो तथा बाढीका कारण सडक सञ्जालमा एकैपटक समस्या देखिएपछि उत्तरी हुम्लाको यातायात व्यवस्था थप प्रभावित भएको छ।

खाद्यान्नदेखि स्वास्थ्य सेवासम्म असर

मुख्य तथा ग्रामीण सडक एकैपटक अवरुद्ध भएपछि हुम्लामा दैनिक जनजीवन प्रभावित भएको छ। जिल्लामा बाहिरबाट आउने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समस्या भएको छ।

सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउनसमेत कठिनाइ हुन सक्ने अवस्था छ। ग्रामीण क्षेत्रमा सडक यातायात नै मुख्य आवागमनको माध्यम भएकाले सडक बन्द हुँदा स्थानीय बासिन्दाले अत्यावश्यक कामका लागि समेत समस्या भोग्नुपरेको छ।

त्यस्तै, विद्यालय जाने विद्यार्थी, सरकारी सेवा लिन गाउँपालिका तथा सदरमुकाम पुग्नुपर्ने स्थानीय र व्यापारिक प्रयोजनका लागि आवतजावत गर्ने नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

सडक खुलाउन प्रशासनको समन्वय

जिल्ला प्रशासन कार्यालयले अवरुद्ध सडक सञ्चालनमा ल्याउन स्थानीय तह तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। पहिरो पन्छाउने, ढुङ्गा हटाउने तथा क्षतिग्रस्त सडक र कल्भर्टको अवस्था पहिचान गरी क्रमशः यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

तर वर्षा पूर्ण रूपमा रोकिएको छैन भने उच्च हिमाली क्षेत्रमा हिमपातको समस्या पनि रहेकाले सडक सञ्चालनमा चुनौती कायम रहेको छ।

अहिले हुम्लाका मुख्य तथा ग्रामीण सडकको अवस्था सुधार गर्न प्रशासन, स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायले प्राथमिकताका साथ काम गरिरहेका छन्। सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म खाद्यान्न ढुवानी, दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र सर्वसाधारणको आवागमनमा समस्या कायमै रहने देखिएको छ।