प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना बनाउने प्रस्ताव, पुरुष कर्मचारीलाई ४२ दिन बिदा

18 Shares

काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदालाई ९८ दिनबाट बढाएर छ महिना पुर्‍याउने प्रस्ताव अघि बढाएको छ। आमालाई प्रसूतिपछि पर्याप्त आराम, नवजात शिशुको स्याहार तथा कम्तीमा छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूले प्रस्तावित व्यवस्थालाई महत्वपूर्ण मानेका छन्।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्दै सुत्केरी बिदा छ महिना पुर्‍याउने प्रस्ताव गरिएको हो। ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’ को मस्यौदामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको प्रसूति बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई समेत ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।

प्रस्तावित संशोधनको मुख्य उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवद्र्धन तथा प्रसूतिपछि आमालाई पर्याप्त आराम र हेरचाहको अवसर उपलब्ध गराउनु रहेको बताइएको छ।

प्रतिनिधिसभाबाट विधेयकमाथि छलफलको बाटो खुला

प्रतिनिधिसभामा विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव सोमबार स्वीकृत भइसकेको छ। प्रस्ताव प्रस्तुत गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मातृत्वमा गरिएको लगानीलाई राज्यको भविष्यमा गरिएको लगानीका रूपमा बुझ्नुपर्ने बताइन्।

उनका अनुसार छ महिनाको सुत्केरी बिदालाई केवल सुविधा वा बिदाका रूपमा मात्र नभई मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्न आवश्यक छ।

पूर्ण स्तनपानमा सहयोग पुग्ने अपेक्षा

परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी प्रधान श्रेष्ठले छ महिनाको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्यका लागि आवश्यक रहेको बताइन्।

उनका अनुसार नवजात शिशुका लागि आमाको दूध अत्यन्त महत्वपूर्ण हुन्छ र कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउन सकिएमा शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।

“आमाको दूधले नवजात शिशुको मृत्यु तथा विभिन्न रोगबाट बचाउन सहयोग गर्नुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास गर्छ। पहिलो खोप नै आमाको दूध हो,” डा. श्रेष्ठले बताइन्।

नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ का अनुसार छ महिनाभन्दा कम उमेरका शिशुमध्ये १० मध्ये करिब सात शिशुले मात्र पूर्ण स्तनपान पाएका छन्। त्यस्तै, १० मध्ये चारभन्दा कम शिशुले जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्ने गरेको तथ्याङ्क छ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार प्रस्तावित छ महिनाको बिदाले आमालाई प्रसूतिपछि शारीरिक रूपमा तङ्ग्रिन, सामान्य अवस्थामा फर्किन तथा शिशुको नियमित स्याहार गर्न पर्याप्त समय उपलब्ध गराउन सक्छ।

कार्यस्थलमा स्तनपानको चुनौती

कामकाजी महिलाको संख्या बढ्दै गए पनि सबै कार्यस्थलमा स्तनपानका लागि पर्याप्त तथा सहज व्यवस्था नभएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

डा. श्रेष्ठका अनुसार कतिपय कार्यालयमा शिशु राख्ने स्थान भए पनि आमाले सहज रूपमा स्तनपान गराउन नसक्ने अवस्था रहेको छ। यस्तो अवस्थामा लामो प्रसूति बिदाले आमा र शिशु दुवैलाई सहयोग पुग्न सक्ने उनको भनाइ छ।

चिकित्सकहरू पनि प्रस्तावप्रति सकारात्मक

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पनि छ महिनाको सुत्केरी बिदा दिने प्रस्तावलाई सकारात्मक र स्वागतयोग्य भएको बताएका छन्।

उनका अनुसार यस्तो व्यवस्थाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।

यद्यपि, मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. श्रेष्ठले छ महिनाको प्रसूति बिदा कार्यान्वयन गर्दा सुरुआती चरणमा केही व्यावहारिक चुनौती आउन सक्ने बताइन्। तर, त्यसलाई भविष्यको पुस्ताका लागि गरिएको लगानीका रूपमा लिनुपर्ने उनको भनाइ छ।

विभिन्न देशमा अभिभावकलाई बालबालिकाको स्याहारका लागि लामो बिदा दिने अभ्यास रहेको उल्लेख गर्दै उनले त्यस्ता अन्तर्राष्ट्रिय अभ्यासबाट पनि सिक्न सकिने बताइन्।

अब विधेयकमाथि प्रतिनिधिसभामा हुने थप छलफल तथा संशोधन प्रक्रियापछि प्रस्तावित व्यवस्था अन्तिम रूप लिनेछ। विधेयक पारित भएर कार्यान्वयनमा आएमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाको प्रसूति बिदाको अवधि हालको ९८ दिनबाट बढेर छ महिना पुग्नेछ भने पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीले समेत ४२ दिनसम्म तलबसहितको बिदा पाउने प्रस्ताव छ।