भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्ने संसदीय विशेष समितिका सभापति पराजुलीले लिए शपथ

20 Shares

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको महाविपत्ति तथा यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्न गठित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’का सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुलीलाई सभामुख डोलप्रसाद अर्यालले बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि सभापति पराजुलीले हिमाली क्षेत्रमा भएको विपत्तिलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै विगत ५ सय वर्षमा नदेखिएको प्रकृतिको महाविपत्ति नेपालले भोग्नुपरेको बताए ।

जलवायु परिवर्तन र नेपालको विपद् व्यवस्थापनबीचको सम्बन्धलाई थप स्पष्ट पार्नुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउँदै आएको ‘जलवायु न्याय’को मुद्दालाई अब व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

समितिले विपद्को पूर्वतयारी, राहत, उद्धार तथा सीमापार समन्वयका विषयमा गहिरो अध्ययन गर्नेछ । जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्यूनीकरणका लागि विकासका अवधारणा तथा पूर्वाधार निर्माणमा आवश्यक परिवर्तनबारे पनि समितिले अध्ययन गर्नेछ ।

त्यसैगरी, संघीयताको मर्मअनुसार स्थानीय तहसम्म रहेका विपद् व्यवस्थापन संयन्त्र र उपलब्ध स्रोतको प्रभावकारी परिचालनबारे समेत समितिले विश्लेषण गर्नेछ ।

तीन महिनाको समयसीमा पाएको समितिले आउँदो चाडपर्वको बिदालाई समेत मध्यनजर गर्दै कार्यतालिका बनाउने जनाएको छ । समितिको कार्यादेशमा अन्तर्राष्ट्रिय सरोकारवाला तथा संसदीय मैत्री समूहसँगको समन्वयलाई समेत महत्व दिइएको छ ।

सबै दलको सर्वसम्मत समर्थनमा सभापतिमा चयन भएका पराजुलीले १५ सदस्यीय समिति, कर्मचारी तथा सञ्चारकर्मीको सहकार्यमा विपद् न्यूनीकरणका लागि प्रभावकारी प्रतिवेदन तयार पार्ने प्रतिबद्धता जनाएका छन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरणका लागि नीतिगत तथा संरचनागत सुधारका विषयलाई समितिको प्रतिवेदनमा प्राथमिकताका साथ समेटिने बताए ।