सकियो भक्तपुरको पुलुकिसी जात्रा

20 Shares

काठमाडौँ। मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएको छ । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ ।

जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको हो । बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो ।

पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ । त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि उल्लासका साथ हजारौँ नागरिक सहभागी भएका थिए ।

पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौँ दर्शक जात्रा हेर्न बसेका थिए । पुलुकिसीलाई ओहोरदोहोर गराइने र हेर्न रमाइलो लाग्ने स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिले बताए । विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकमा जात्रा हेर्नेको घुइँचो लागेको थियो ।

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जनाले अगाडि बसेर घण्ट बजाएका थिए । घण्ट बजाउँदै पुलुकिसी आएको सङ्केत दिँदै नगर परिक्रमा गराइएको थियो । यस क्रममा चोकचोकमा पुलुकिसीलाई ओहोर दोहोर गराइएको थियो । साथै पुलुकिसीसँग हिँडेका व्यत्तिले अगाडि छ्वाली बालेर बाटो तय गर्दै गएको दृश्य रमाइलो थियो ।

जात्रा लाकुलाछेंबाट सुरु भई राति त्यही पुगेर टुङ्गिने चलन छ । योबीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने मार्ग भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइने चलन छ । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गर्ने चलन छ ।

पुलुकिसी बनाएर जात्रा सुरु हुने लाकुलाछेस्थित भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूका अनुसार जात्राका लागि आवश्यक सबै तयारी स्थानीयले गर्ने गर्छन् । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाउने गरिएको उनले जानकारी दिए । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरूले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने गरेका उनले बताए ।

पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास अहिले पनि कायमै छ । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।

कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाइँदै आएको छ ।

पारिजात फूल टिप्न पृथ्वी लोक आएका छोरालाई बन्धक बनाएपछि उनलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किंवदन्ती रहेको उनले बताए । पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।