हिमपहिरोमा बेपत्ता श्रमिकको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता समस्यासम्म, सरकारको ध्यानाकर्षण

21 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका श्रमिकको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीडित परिवारसँग संवाद तथा पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले भोगिरहेको बैंक खाता खोल्न नपाउने समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै सांसद राईले असोज ११ गते मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीन नेपाली श्रमिक बेपत्ता भएको स्मरण गराउनुभयो।

उहाँका अनुसार हालसम्म घनश्याम राईको शव फेला परेको भए पनि लककुमार गुरुङ र सुरज राईको अवस्था अझै अज्ञात रहेको छ। बेपत्ता श्रमिकको खोजीका लागि सरकारले पर्याप्त तत्परता नदेखाएको भन्दै आफन्तहरूले गुनासो गरिरहेको जानकारी उहाँले सदनलाई गराउनुभयो।

सांसद राईले त्रिपुरेश्वरमा भएको आत्मदाह घटनामा मृत्यु भएका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले पर्याप्त संवाद नगरेको विषय पनि सदनमा उठाउनुभयो। पीडित परिवार न्याय तथा वार्ताको माग गर्दै गृह मन्त्रालय पुगे पनि सम्बन्धित मन्त्रीसँग भेट गर्न नपाएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।

त्यस्तै, पोल्याण्डमा कार्यरत नेपाली श्रमिकले भोगिरहेको बैंक खाता खोल्न नपाउने समस्याबारे पनि उहाँले सरकारलाई जानकारी गराउनुभयो।

पोल्याण्डका केही बैंकले नेपाली श्रमिकलाई खाता खोल्न नदिएको र यसको कारणका रूपमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नुलाई श्रमिकहरूले उल्लेख गरेको सांसद राईले बताउनुभयो।

बैंक खाता खोल्न नसक्दा नेपाली श्रमिकलाई पारिश्रमिक प्राप्त गर्न तथा दैनिक आर्थिक कारोबार सञ्चालन गर्न समस्या भइरहेको भन्दै उहाँले कूटनीतिक तथा प्रशासनिक पहलमार्फत समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई तत्काल सक्रिय हुन आग्रह गर्नुभयो।

सांसद राईले बेपत्ता श्रमिकको खोजीलाई तीव्रता दिन, आत्मदाह घटनाका पीडित परिवारसँग आवश्यक संवाद गर्न तथा विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।