बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माकाे माग

21 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोका कारण बागलुङ र म्याग्दीमा भएको ठूलो क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित जिल्लाका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले असोज ८ देखि ११ गतेसम्म आएको भीषण बाढीका कारण बागलुङमा मात्रै १३ जनाको मृत्यु भएको जानकारी गराउनुभयो। बाढीपहिरोबाट भौतिक संरचना क्षतिग्रस्त हुँदा हजारौँ नागरिक आधारभूत सेवाबाट वञ्चित भएको उहाँले बताउनुभयो।

सांसद शर्माका अनुसार बागलुङका ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोट लगायतका क्षेत्र बाढी तथा हावाहुरीबाट प्रभावित भएका छन्। सयौँ घर, गोठ तथा खेतीयोग्य जमिनमा क्षति पुगेको उहाँले बताउनुभयो।

विपत्तिपछि पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत्, खानेपानी तथा सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको सांसद शर्माको भनाइ छ। सञ्चार सम्पर्क विच्छेद हुँदा कतिपय क्षेत्र अझै सम्पर्कविहीन अवस्थामा रहेको तथा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको उहाँले जानकारी गराउनुभयो।

उहाँले मध्यपहाडी लोकमार्गको लाइफलाइनका रूपमा रहेको मालढुंगाको पुलसमेत क्षतिग्रस्त भएकाले राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भइरहेको बताउनुभयो।

सांसद शर्माले भोटेकोशी बाढीका क्रममा उपलब्ध गराइएको राहत प्याकेजजस्तै बागलुङका प्रभावितका लागि पनि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो।

उहाँले तत्काल सडक तथा सञ्चार सेवा पुनःस्थापना गर्न, प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन र क्षतिको प्रभावकारी मूल्याङ्कन गरी पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।