काठमाडाैं । कञ्चनपुरस्थित महाकाली नदीमा आएको भीषण बाढीका कारण पर्यटकीय तथा रणनीतिक महत्व बोकेको बहुचर्चित दोधरा चाँदनी झोलुङ्गे पुलको करिव ७५ मिटर भाग क्षतिग्रस्त भएको छ ।
नदीको भङ्गालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्र कटान गरेपछि महाकालीपारिको बस्तीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने मुख्य पैदलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले पुल क्षतिग्रस्त हुँदा दोधरा चाँदनीवासीको दैनिक जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नुहुने सांसद महताले घटना राति करिव ११ बजे भएकाले मानवीय क्षति हुन नपाए पनि स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा दैनिक ज्यालादारी गर्ने सर्वसाधारणको आवागमन ठप्प भएको जानकारी दिनुभयो ।
सांसद महताकाअनुसार महाकालीपारिको दोधरा चाँदनीलाई आफ्नै जिल्लाको सदरमुकामसँग जोड्ने उद्देश्यसहित वि.सं. २०५७ सालदेखि निर्माण शुरु गरिएको यो पुल २०६१ सालमा सम्पन्न भएको थियो ।
९ करोड ४० लाख रुपैयाँ लागतमा निर्मित १ हजार ४५३ मिटर लामो उक्त संरचना एशियाकै लामो झोलुङ्गे पुलका रूपमा समेत परिचित छ । पुल निर्माण हुनुअघि स्थानीय बासिन्दा सदरमुकाम पुग्नसमेत भारतीय भूमि भएर यात्रा गर्न बाध्य थिए । यो पुल सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको मात्र नभई पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत विकास भएको थियो ।
पुल भासिएपछि सीमावर्ती दोधरा चाँदनी क्षेत्रको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । सांसद महताले यो केवल भौतिक संरचनाको क्षति मात्र नभई हजारौँ नागरिकको अवसर र जीवनरेखामाथिको प्रहार भएको बताउनुभयो ।
उहाँले तत्काल स्थलगत प्राविधिक टोली खटाई क्षतिको विस्तृत मूल्यांकन गर्न, पुलको समग्र संरचनागत सुरक्षाको परीक्षण गरी यथाशीघ्र पुनर्निर्माण थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग माग गर्नुभयो ।
त्यस्तै, महाकाली नदीमा आउने मौसमी बाढी र कटानबाट भविष्यमा यस्ता रणनीतिक पूर्वाधार जोगाउन नदी नियन्त्रण, तटबन्ध निर्माण र दीर्घकालीन सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया